Home राष्ट्रिय अन्तरदेशीय रेलमार्गको काम दशकदेखि अलपत्र

अन्तरदेशीय रेलमार्गको काम दशकदेखि अलपत्र

काठमाडौँ  । नेपाल–भारत सीमानाकामा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि समझदारी भएको १३ वर्ष बित्दा पनि तीन वटा नाकामा निर्माणको अझै कुनै सुरसार छैन । अहिलेसम्म विस्तृत अध्ययनको कामसमेत थालिएको छैन । निर्माण थालेको मोरङको कटहरी–बथनाहा रेलमार्ग पनि अझै पूरा हुन सकेको छैन । १८.६ किलोमिटरमध्ये ७ किमि खण्डको मात्र निर्माण पूरा भएको छ ।

१२ वर्षअघि निर्माण थालिएको उक्त रेलमार्गको कटहरी खण्डमा स्थानीयले मुआब्जाको कुरा उठाउँदै काम गर्न नदिएपछि आयोजना सम्पन्न हुन नसकेको रेल विभागले जनाएको छ । जसले गर्दा अन्य तीन वटा नाकामा तत्काल काम अघि बढाइहाल्न भारत तयार नदेखिएको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए ।

‘कटहरी खण्डको १.२ किमि खण्डमा स्थानीयका कारण वर्षौंदेखि काम अघि बढ्न सकेको छैन,’ महानिर्देशक बिसुरालले भने, ‘जसको प्रभाव अन्य नाकामा पनि परेको छ ।’ अन्य तीन वटा नाका ४६ किमि दूरीको काँकडभिट्टा–न्यु जलपाइगुडी, १५ किमिको भैरहवा–नौतनवा र १२ किमि दूरीको नेपालगन्ज– नेपालगन्जरोडको काम अघि नबढेको हो । उक्त खण्डमा रेल निर्माणका लागि प्रारम्भिक अध्ययनको काम मात्र भएको छ । अन्य थप प्रगति केही नभएको महानिर्देशक बिसुरालले जनाए । नेपाल र भारत सरकारबीच सन् २०१० मा पाँच नाकामा रेलवे पूर्वाधार निर्माण गर्ने भन्दै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।

सबै नाकामा भारतको अनुदानमा रेल पूर्वाधार निर्माण गरिने समझदारी पत्रमा उल्लेख छ । त्यहीअनुसार कटहरी–बथनाहा र जयनगर–बिजलपुरा खण्डको निर्माण गरिएको हो । भारतको सरकारी कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले निर्माणको काम गरिरहेको छ । भारत सरकारले डिजाइन तयार गरिसकेपछि आवश्यक जग्गा रेलमार्ग निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउनुपर्छ ।

रेल निर्माणका लागि आवश्यक पर्ने जग्गा नेपाल सरकारले उपलब्ध गराएपछि पूर्वाधार निर्माणको काम भारतले गर्ने रेल विभागले जनाएको छ । चार वटा नाकामा कार्गो रेल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न लागिएको हो । जयनगर–जनकपुर–बिजलपुरा खण्डमा सञ्चालनमा आएको ५२ किमि दूरीमा चल्ने रेल भने यात्रुवाहक हो । कार्गो रेल व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने महानिर्देशक बिसुरालले बताए । बर्दिबाससम्म जोड्ने गरी थप १७ किमि खण्डमा काम भइरहेको छ ।

अहिले रक्सौल हुँदै वीरगन्जसम्म रेलमार्गबाट सामान ल्याउन सजिलो भएको छ । यसरी सीमा नाकामा बन्ने रेलमार्गलाई पछि पूर्वपश्चिम विद्युतीय रेलमार्गसँग जोडिने विभागको भनाइ छ । ‘भारतसँग सीमा जोडिएका सहरहरू छानेर रेलमार्ग निर्माण गर्न लागिएको हो,’ महानिर्देशक बिसुरालले भने, ‘सबै नाकामा रेलमार्ग निर्माणपछि सिधै सामान ल्याउन र व्यापारिक दृष्टिकोणले सस्तो पर्ने छ ।’ उनका अनुसार अन्य नाकामा काम थाल्नुअघि कटहरी खण्डमा निर्माणको काम अघि बढाउन आवश्यक छ । निर्माणको जिम्मा लिएको इरकनले एक महिनाभित्र उक्त खण्डको साइट क्लिएर नगरे काम नगर्ने चेतावनी दिइसकेको छ । यही कम्पनीले अन्य नाकामा पनि रेलमार्ग निर्माण गर्ने भएकाले पहिला कटहरी खण्डको साइट क्लिएर गरेर काम अघि बढाउनुको विकल्प नभएको उनले बताए ।

‘कटहरी खण्डमा अहिलेसम्म काम भएको भए अन्यत्र काम अघि बढाउन समस्या हुने थिएन,’ उनले भने, ‘यही खण्डमा काम गर्न नपाएपछि अन्य नाकामा इरकनलाई काम गरिदेऊ भन्न सकिएको छैन ।’ जसले गर्दा कहिलेबाट निर्माणको काम अघि बढ्छ भन्ने कुरामा आफूहरू नै अन्योलमा रहेको उनको भनाइ छ । ‘जयनगर–जनकपुरदेखि बर्दिबास खण्ड ६९ किमि रेलमार्ग निर्माण हुनेछ, यो खण्डको १७ किमि खण्डमा मुआब्जा टुंग्याएर निर्माणको काम गरिँदै छ,’ महानिर्देशक बिसुरालले भने, ‘अन्यत्र भने काम थालेको दशक बित्दा पनि प्रगति हुन सकेन, स्थानीयले काम गर्न दिएको भए अहिलेसम्म कटहरी खण्डमा रेल सञ्चालनमा आइसक्थ्यो ।’ इकान्तिपुर

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments