काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कौडीको भाउमा लिजमा दिएको पशुपति गौशाला धर्मशालासँगको सम्झौता रद्द गरेको छ । सहरको मुख्य चोकमा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँमा प्रयोग गर्दै आएकामा अब चलनचल्तीको मूल्यअनुसार लिजमा लगाउने भन्दै सम्झौता रद्द गरेको हो ।
कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले सम्झौता रद्द गर्दै १५ दिनभित्र नयाँ सम्झौताका लागि मारवाडी सेवा समितिलाई समय दिने निणर्य गरेको छ । अब चलनचल्तीको मूल्यअनुसार सो जग्गा लिजमा दिने कोषले जनाएको छ ।
‘मारवाडी सेवा समितिले कौडीको भाउमा सो जग्गा लिजमा लिई त्यहाँ व्यापार पनि गर्दै आएको छ,’ कोषका सदस्य राजु खत्रीले भने, ‘लिजका कारण कोषलाई ठूलो नोक्सान भएको छ, जसकाकारण पुरानो सम्झौता रद्द गरी नयाँ मूल्यांकनमार्फत् सम्झौता गर्ने निणर्य गरेका छौँ ।’
यसअघि संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र तथा महालेखा परीक्षकको कार्यालयले समेत सम्झौता रद्द गर्न निर्देशन दिएकाले त्यसैअनुसार हाल कार्यान्वयन अघि बढाइएको उनको भनाइ छ । बहुमूल्य सम्पत्ति कौडीको भाउमा लिजमा दिइएको विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएको छ ।
९ जेठ ०६० देखि मारवाडी सेवा समितिले सो जग्गा लिजमा लिएर प्रयोग गर्दै आएको छ । उसले सामाजिक काममा जग्गा प्रयोग गरेको बताए पनि सटरहरू भाडा लगाएर महिनामै लाखौँ आम्दानी गर्दै आएको छ । पटक-पटक सो लिज अन्त्य गर्ने प्रयास भए पनि सफल भएको थिएन ।
अवधि उल्लेख नगरी ०६० मा न्यून दरमा लिज सम्झौता भएकाले अहिले समस्या भएको हो । २० वर्षपछि पुरानो लिज सम्झौता रद्द गरी नयाँ प्रक्रिया थालिएको छ । धर्मशालामा १९ सटर रहेकामा त्यसको भाडा मात्र मारवाडी सेवा समितिले मासिक करिब ६ लाख उठाउने गरेको छ । धर्मशालाभित्र दुई सय ७० कोठा छन् । जुन कोठा दैनिक हजार रुपैयाँसम्म भाडामा दिने गरिन्छ ।
यता पशुपति मन्दिरमा हुँदै आएको गंगा आरतीलाई पशुपति क्षेत्र विकास कोषले पारदर्शी र व्यवस्थित बनाउन आफ्नो मातहत ल्याउने गरेको छ । हाल एक संस्थाले सो आरती चलाउँदै आएको छ, त्यसबारे कोष बेखबर छ । बुधबार बसेको कोषको सञ्चालक समिति बैठकले गंगा आरती सञ्चालन गर्दै आएको श्री पशुपतिनाथ एवं बागमती गंगा आरती सेवा समितिलाई सम्झौता गर्न बोलाउने निणर्य गरेको छ ।
बैठकको निणर्यमा भनिएको छ, ‘पशुपति क्षेत्रको आर्यघाटपारि पन्ध्र शिवालय परिसरमा हुने बागमती गंगा आरतीलाई कोषको स्वामित्वमा राख्ने र सो संस्थाबाट हुने आम्दानीलाई पारदर्शी गर्दै कोषको अधिकतम हितमा हुने गरी उक्त संस्थासँग वार्ता गरी सञ्चालन कार्यविधिसमेत बनाई आगामी परिषदको बैठकमा पेस गरी अनुमोदनपश्चात् व्यवस्थित गर्न कोष व्यवस्थापनलाई निर्देशन दिन उपयुक्त हुने ।’
०६४ साउनदेखि पशुपतिमा गंगा आरती हुँदै आएको छ । ३० असार ०७१ मा कोषले सो समितिलाई खर्च विवरण उपलब्ध गराउन पत्राचार गरे पनि हालसम्म उपलब्ध गराएको छैन । कुनै व्यक्तिको जन्मदिन लगायत अवसरमा आरती गर्दा सो संस्थाले न्यूनतम एक हजार पाँच सय रुपैयाँ लिँदै आएको छ । कोषको सहमतिबिना यसरी पैसा लिएर आरती गर्दै आएको विषय विवादित बनेपछि विगतमा विभिन्न निकायमा उजुरीसमेत परेको थियो ।
जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखापरीक्षकको कार्यालयले आरतीलाई कोषमातहत ल्याउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार आरतीलाई व्यवस्थित, पारदर्शी बनाउन सो कार्यविधि बनाई कोषमातहत ल्याउन लागिएको कोषका सदस्य खत्रीले बताए । फरक पत्र

