सन्जय गुप्ता// वीरगञ्ज, पौष ४//
सहनशीलताको सिमा पार गरेको पर्साको बहुदरमाइ नगरपालिकाले लोकतन्त्रको खिल्ली उडाएको भन्दै आक्रोसित स्थानीय विद्यार्थीहरु आज नगरपालिकामा तालाबन्दी गरि आन्दोलन गरेका छन ।

नगरपालिकाका मेयर सिङ्गासन साह र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले आ आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्ने दाउ रहेको एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै आर्थिक वर्षको सुरुवात देखि नै आजसम्म नगरपालिकाको सम्पूर्ण कामकाजलाइ ठप्प पार्दै आफ्नो अख्तियारको दुरुपयोग गरेको भन्दै यी दुबैजना मिलेर नगरवासी र यहाँका कर्मचारीहरुलाइ निरीह बनाएको तथा सर्वसाधारण र हामी विद्यार्थीहरुको भविस्य सङ्ग खेलवाड गरिरहेको आन्दोलित विद्यार्थीहरुको आरोप रहेको छ ।
नगरको अभिभावकको भूमिकामा रहेका नगर प्रमुख साह र प्रमुख प्रशासकिय अधिकृत मुस्तुफा दुवैजनाले नगरपालिकालाई आ आफ्नो स्वार्थ पुर्तिको हिसाबले चलाउन खोज्दा कुरो नमिलेपछि विवाद उत्पन्न भएको सर्वसाधारण हरुले बताएका छन ।
यता दुइजना विचको द्वन्द्वका कारण सिङ्गो नगर तहस नहस भैरहदा पनि कुनै निकायले यिनिहरुलाइ तह लगाउने लियाकत राख्दैन भने यो लोकतान्त्रिक ब्यवस्था नभै राजतन्त्र भन्दा पनि अव्यवहारिक शासन पद्धति भएको आभास आफुहरुले गरेको गुनासो यहाँ सर्वसाधारण नागरिकहरुले गरेका छन् ।
नगरपालिकामा नेतृत्वदायी भुमिकामा रहेका दुई जनाको मनमुटावका कारण नगरपालिकाका शिक्षक लगायत अन्य कर्मचारीहरु समेत आर्थिक वर्षको सुरुवात देखि आज सम्म तलब समेत नपाएको अवस्थामा काम गरिरहेको भएपनि यस विषयमा कहि कतै कुनै निकाय बाट चासो नदेखिएको दुखेसो कर्मचारीहरुको रहेकोे छ ।
यसरी आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक निकायको सम्पूर्ण कामकाज ठप्प पार्दै सिङ्गो पालिकालाइ नै आफ्नो स्वार्थपुर्तिका लागि अख्तियारको दुरुपयोग गरि जनताको कामकाज ठप्प पार्नु र जिविकापार्जन हेतु काम गरिरहेको कर्मचारीहरुको तलब समेत दशै, तिहार र छठ जस्तो पर्वको अवसरमा समेत नदिनु अत्यन्तै अव्यवहारिक र दुखदायी पक्ष भएकोले यथाशिघ्र यो समस्या समाधान गर्नुपर्ने सर्वसाधारण तथा सरोकारवाला हरुको भनाइ रहेकोे छ ।

