वीरगंज / शनिवार यस अनलाईनले “पकहाँ मैनपुरका जिन्सी प्रमुख महतोको निर्देशनमा कार्यालयबाट राति सामानहरु निकालेको कार्यालय सहयोगी कुर्मीको भनाई, अधिकृत कुशवाहा सम्पर्क विहिन” शिर्षकको समाचार प्रकाशन गरे पछि आईतवार सो गाउँपालिकाले एक समिति गठन गरेको छ ।
पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाको जिन्सी शाखाबाट कर्मचारीहरुले नै रातिको समयमा समानहरु चोरी गरिरहेको घटना सार्वजनिक भएपछि अधिकृत राज कुशवाहाले आईतवार एक प्रेस विज्ञप्ती निकाली जिन्सी शाखाको सम्पूर्ण कर्मचारीहरुलाई पदमुक्त गरेको जनाएका छन् ।
सो विज्ञप्तीमा न्यायिक समितिका संयोजकको अध्यक्षतामा समिति गठन गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ । समितिमा को–को छन्, सदस्यहरुको नाम खुलाईएको छैन् । घटनालाई ढाकछोप गर्न देखावटी समिति बनेको हो कि ? यथार्थमा दोषीलाई कारवाही हुने हो ? स्थानिय जनता प्रतिक्षामा रहेका छन् ।
जिन्सी शाखा प्रमुख हरि मोहन महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएका थिए ।
घटना भदौ २१ गते राति करिब ८ः३० बजेको हो । पालिकाका कार्यालय सहयोगी कुर्मी र सहायक कम्प्यूटर अपरेट धनन्जयले पालिकाको जिन्सी शाखा खोली शाखामा रहेको व्याग र रैनकोट निकाल्न लाग्दा स्थानिय युवाहरुले देखेपछि हो–हल्ला गरेका थिए । हल्ला भएपश्चात केही सामान्य बिवाद समेत भए पनि कार्यालय सहयोगीले सो सामान कार्यालयमै फिर्ता राखी भागेको सामाजिक सञ्जालमा भाईरल भएको भिडियोमा प्रष्ट देखिन्छ ।
यो घटना भने पहिलो होईन, यस भन्दा अगाडि पनि रातिकै समयमा कार्यालय खोली जिन्सी शाखा प्रमुख महतो र कार्यालय सहयोगी मुनाले विभिन्न सामग्रीहरु निकालेर घर लगेको स्थानियहरुले बताएका छन् ।
चोरीको घटना सार्वजनिक भए पछि २१ गते देखि नै प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्पर्क विहिन भएका थिए ।साभार : पर्दाफास डेलि

