अन्तर्राष्ट्रियअर्थई-पेपरकर्णाली प्रदेशकृषिकोशी प्रदेशखेलगण्डकी प्रदेशधर्म/संस्कृतिप्रदेशबाग्मती प्रदेशमधेस प्रदेशराजनीतिराष्ट्रियलुम्बिनी प्रदेशविज्ञान प्रविधिविविधशिक्षासमाचारसमाजसुदुरपश्चिम प्रदेशस्थानीयस्वास्थ्य
फेटा गोलीकाण्डका घाइते बालकको काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु
बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १४ वर्षीय बालक आदित्य पासवानलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका छोरालाई थप उपचारका लागि काठमाडौं लगिएको हो।
बालकको स्वास्थ्य अवस्था गम्भीर रहे पनि शनिबारको तुलनामा आइतबार केही सुधार देखिएपछि चिकित्सकको परामर्शमा हेलिकोप्टरबाट स्थानान्तरण गरिएको हो। उनको उपचारका लागि भेन्टिलेटर सुविधासहित हेम्स अस्पतालका चिकित्सकहरू नेपाली सेनाको हेलिकोप्टरमा वीरगञ्ज आएका थिए। उनीहरूले नेशनल मेडिकल कलेजका चिकित्सकसँग लामो परामर्श तथा स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरेपछि बालकलाई बुवा र दाजुको साथमा काठमाडौं लगेका हुन्। हाल उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको ए ब्लकअन्तर्गत चौथो नम्बरको आईसीयू कक्षमा राखेर उपचार सुरु गरिएको छ।
शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा प्रहरीले चलाएको गोली बालक पासवानको पछाडिपट्टि कम्मरछेउमा लागेको थियो। घटनालगत्तै उनलाई नेशनल मेडिकल कलेज पुर्याइएको थियो। चिकित्सकले शल्यक्रिया गरी शरीरमा लागेको गोली निकालेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेकाले शनिबार नै काठमाडौं लैजान जोखिम हुने चिकित्सकको सुझाव थियो। आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी आइतबार सुरक्षित रूपमा काठमाडौं स्थानान्तरण गरिएको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिएका छन्।
प्रजिअ अधिकारीले घाइते बालकको उपचारमा नेशनल मेडिकल कलेजका चिकित्सकहरूले उत्कृष्ट प्रयास गरेको बताउँदै थप सुविधासम्पन्न अस्पतालमा उपचार भएपछि स्वास्थ्यमा थप सुधार आउने विश्वास व्यक्त गरेका छन्। उनले घटना दुःखद भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
घटनाको पृष्ठभूमि फेटा गाउँपालिका–३ मा निर्माण गरिएको १५ शय्याको आधारभूत अस्पतालको उद्घाटन विवादसँग जोडिएको छ। अस्पताल भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएको तथा अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार, चिकित्सक, नर्स, शय्या र स्वास्थ्य सेवा सुनिश्चित नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए।
गाउँपालिकाका पूर्वअध्यक्ष अमिरीलाल प्रसादसहितका स्थानीयले अस्पताल अधुरै रहेको भन्दै उद्घाटन कार्यक्रम रोक्न माग गरेका थिए। तर गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाको आतिथ्यतामा शनिबार दिउँसो १ बजे उद्घाटन कार्यक्रम गर्ने तयारी गरेका थिए। विवाद बढ्न सक्ने अवस्था देखेपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले कार्यक्रम रोक्न आग्रह गरे पनि अध्यक्ष अंसारीले तयारी पूरा भइसकेको भन्दै कार्यक्रम रद्द गर्न मानेका थिएनन्। प्रशासनले विरोधमा उत्रिएका पक्षलाई समेत अस्पताल उद्घाटनलाई विवादको विषय नबनाउन आग्रह गरेको थियो।
तर शनिबार बिहान ९ बजेदेखि नै विरोध प्रदर्शन सुरु भयो। प्रदर्शनकारीले उद्घाटन कार्यक्रमका लागि निर्माण गरिएको टेन्ट भत्काउनुका साथै शिलालेख फुटाएपछि प्रहरी र प्रदर्शनकारीबीच तनाव बढेको थियो। सोही क्रममा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामाले विरोधको नेतृत्व गरिरहेका पूर्वअध्यक्ष अमिरीलाल प्रसादसहित केही व्यक्तिलाई पक्राउ गर्न खोज्दा स्थिति थप तनावपूर्ण बनेको थियो। झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर बालक पासवान गम्भीर घाइते भएका थिए।
गोली चलेपछि आक्रोशित स्थानीयले प्रहरीको एउटा मोटरसाइकलसहित करिब नौदेखि १० वटा मोटरसाइकलमा आगजनी गर्नुका साथै अस्पताल परिसरमा तोडफोड गरेका थिए। झडपमा पाँच जना प्रहरीसहित दुवै पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ। घटनापछि फेटा क्षेत्रमा तनाव उत्पन्न भएको थियो।
स्थिति नियन्त्रणमा लिन तत्कालै जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। घटनास्थल तथा आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षा व्यवस्था थप मजबुत बनाउन पर्सा र रौतहटबाट समेत सुरक्षाकर्मीको टोली बारा ल्याइएको थियो। प्रशासनको सक्रियतापछि केही समयमै स्थिति नियन्त्रणमा आएको थियो।
यसैबीच, घटनामा अनावश्यक बल प्रयोग गरी गोली चलाइएको भन्दै आन्दोलनरत पक्षले दोषी प्रहरीलाई कारबाही गर्न माग गरेपछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ। उनको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा खटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। गोली चलाउने प्रहरीलाई समेत जिल्ला प्रहरी कार्यालयमा तानिएको जनाइएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन्। समितिलाई घटनास्थलको स्थलगत निरीक्षण गरी विवादको पृष्ठभूमि, झडपको अवस्था, प्रहरीको बल प्रयोग र गोली चलाउनुपर्ने परिस्थिति लगायतका विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले सुरक्षाकर्मीबाट भएको कमजोरीबारे आन्तरिक छानबिन सुरु भइसकेको बताउँदै दोषी देखिए कारबाही गरिने स्पष्ट पारेका छन्। उनले दुवै पक्षलाई संयमित रहन र शान्तिपूर्ण वातावरण निर्माण गर्न आग्रह गरेका छन्। अस्पतालजस्तो संवेदनशील विषयमा विवाद हुँदा बालकले गोली लागेर गम्भीर घाइते हुनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै उनले सबै पक्षले आ–आफ्नो कमजोरीको समीक्षा गर्नुपर्ने बताएका छन्।
अस्पताल निर्माण, उद्घाटन र सञ्चालनको तयारीलाई लिएर सुरु भएको विवाद प्रहरीको गोली प्रहार, तोडफोड र आगजनीसम्म पुग्नुले स्थानीय प्रशासनको सुरक्षा व्यवस्थापन तथा गाउँपालिकाको अस्पताल सञ्चालनसम्बन्धी तयारीमाथि समेत प्रश्न उठाएको छ। अहिले घाइते बालकको स्वास्थ्य उपचार, घटनाको निष्पक्ष छानबिन, गोली प्रहारमा संलग्न सुरक्षाकर्मीको जवाफदेहिता र अस्पताल सञ्चालनसम्बन्धी विवादको समाधान स्थानीयवासीका प्रमुख चासोका विषय बनेका छन्।

