अन्तर्राष्ट्रियअर्थई-पेपरकर्णाली प्रदेशकृषिकोशी प्रदेशखेलगण्डकी प्रदेशधर्म/संस्कृतिप्रदेशबाग्मती प्रदेशमधेस प्रदेशराजनीतिराष्ट्रियलुम्बिनी प्रदेशविज्ञान प्रविधिविविधशिक्षासमाचारसमाजसुदुरपश्चिम प्रदेशस्थानीयस्वास्थ्य
कांग्रेस बाराको सभापतिमा राजेश राय यादव पुनः सर्वसम्मत

नेपाली कांग्रेस बाराको जिल्ला नेतृत्वमा राजेश राय यादव पुनः सर्वसम्मत चयन भएका छन्। पार्टीको १५औँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार कलैया उपमहानगरपालिका–१ स्थित राजजानकी मन्दिरको प्राङ्गणमा सम्पन्न अधिवेशनले यादवलाई दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा चयन गरेको हो।
शेरबहादुर देउवा समूहको जिल्ला अधिवेशनबाट यादव सर्वसम्मत सभापति चयन भएका हुन्। यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
अधिवेशनमा संविधानसभा सदस्य एवं पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवसहित जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सोधीलाल मण्डल, क्षेत्र नम्बर २ का मुस्ताक अन्सारी, क्षेत्र नम्बर ३ की कलावती पासवान र क्षेत्र नम्बर ४ का हरेन्द्रप्रसाद यादव सहभागी थिए। त्यसैगरी प्रदेशसभा क्षेत्रीय सभापतिहरू राजेश साह, हरिलाल राय यादव (बाबा), सुरेशप्रसाद साह, हरि प्रवेश यादव, लेखनाथ खनाल र गोपालप्रसाद कुशवाहालगायतको उपस्थिति थियो।
यादव पुनः सभापतिमा चयन भएपछि अधिवेशनमा सहभागी नेताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले पार्टीभित्रको एकता मजबुत बनाउँदै संगठनलाई गाउँदेखि जिल्लासम्म थप सक्रिय र सुदृढ बनाउन यादवको नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गरे। कार्यक्रम सञ्चालन सञ्चारकर्मी जयनारायण यादवले गरेका थिए।
यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको गुटगत विवादको प्रभाव बारामा पनि परेको छ। विशेष महाधिवेशन पक्षधर गगनकुमार थापा समूह र १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा समूहले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएका छन्।
थापा समूहले वडा, नगर र क्षेत्रीय अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ भने देउवा समूहले वडा, नगर तथा प्रदेश अधिवेशनपछि जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाएको हो। सोही क्रममा देउवा समूहले बाराको जिल्ला अधिवेशन सम्पन्न गर्दै राजेश राय यादवलाई पुनः सभापतिमा चयन गरेको छ।
यता, थापा समूहले भने हालसम्म बारामा जिल्ला अधिवेशनको मिति घोषणा गरेको छैन। यसले जिल्लामा कांग्रेसको संगठनात्मक नेतृत्व र महाधिवेशन प्रक्रियालाई लिएर दुई समूहबीचको राजनीतिक प्रतिस्पर्धा कायमै रहेको देखाएको छ।

