अन्तर्राष्ट्रियअर्थई-पेपरकर्णाली प्रदेशकृषिकोशी प्रदेशखेलगण्डकी प्रदेशधर्म/संस्कृतिप्रदेशबाग्मती प्रदेशमधेस प्रदेशराजनीतिराष्ट्रियलुम्बिनी प्रदेशविज्ञान प्रविधिविविधशिक्षासमाचारसमाजसुदुरपश्चिम प्रदेशस्थानीयस्वास्थ्य
प्रधानमन्त्रीको चासोपछि सिर्सिया सफाइ अभियानले पायो गति, उद्योग मन्त्रालयको टोली वीरगंजमा

लामो समयदेखि औद्योगिक फोहोर तथा प्रदूषणको चपेटामा परेको सिर्सिया नदीको संरक्षण र सरसफाइका लागि सरकारीस्तरबाट सक्रियता बढाइएको छ। प्रधानमन्त्री बालेन शाहले नदी प्रदूषण नियन्त्रणमा विशेष चासो देखाएपछि वीरगंजमा सफाइ अभियानले गति लिन थालेको हो।
प्रधानमन्त्री कार्यालयबाट आवश्यक निर्देशन जारी भएपछि उद्योग मन्त्रालयका प्रमुख स्वकीय सचिव आशिष् सुवेदीसहितको टोली वीरगंज पुगेर नदी सफाइ तथा प्रदूषण नियन्त्रणका विषयमा सरोकारवालासँग छलफल र समन्वयमा जुटेको छ।
टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, स्थानीय उद्योगी–व्यवसायी, नारायणी सिँचाइ कार्यालयका प्रतिनिधि तथा जेन–जी पर्साका सदस्यहरूसँग छलफल गरेको छ। छलफलमा सिर्सिया नदी प्रदूषित हुनुका प्रमुख कारण, उद्योगबाट निस्कने फोहोर तथा रसायनको व्यवस्थापन, नदीको सरसफाइ र भविष्यमा प्रदूषण रोक्ने उपायबारे विशेष रूपमा कुराकानी भएको बताइएको छ।
छलफलमा जेन–जी पर्साका संयोजक विशेष साहले पनि सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। उनले सिर्सिया नदीको प्रदूषण नियन्त्रण कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै सरकारी निकाय, स्थानीय तह, उद्योगी–व्यवसायी र नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।
सरोकारवालाहरूले आगामी छठ पर्वअघि नदीलाई सकेसम्म सफा बनाउने तत्कालीन लक्ष्यसहित काम अघि बढाउने विषयमा छलफल गरिरहेका छन्। तर, तत्कालीन सरसफाइले मात्र समस्या समाधान नहुने भएकाले नदीमा औद्योगिक फोहोर, रासायनिक पदार्थ तथा अन्य प्रदूषित पानी मिसिन नदिने स्थायी व्यवस्था मिलाउनुपर्नेमा समेत जोड दिइएको छ।
वीरगंजको औद्योगिक तथा पर्यावरणीय अवस्थासँग प्रत्यक्ष जोडिएको सिर्सिया नदी लामो समयदेखि प्रदूषणको गम्भीर समस्याबाट गुज्रिरहेको छ। नदीमा उद्योगबाट निस्कने फोहोर तथा दूषित पानी मिसिँदा जलचर, कृषि, वातावरण र स्थानीय नागरिकको जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्ने चिन्ता बढ्दै आएको छ।
यसअघि पनि नदी सफाइ र प्रदूषण नियन्त्रणका लागि विभिन्न समयमा अभियान तथा प्रतिबद्धता सार्वजनिक हुँदै आएका थिए। तर, प्रभावकारी अनुगमन, उद्योगहरूको जिम्मेवारी निर्धारण र दीर्घकालीन व्यवस्थापनको अभावमा अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन।
यसपटक प्रधानमन्त्री कार्यालयको चासोपछि उद्योग मन्त्रालयको टोली नै सक्रिय रूपमा परिचालित हुनु र स्थानीय प्रशासन, महानगरपालिका, उद्योगी तथा नागरिकस्तरबीच समन्वय सुरु हुनुलाई सकारात्मक रूपमा हेरिएको छ।
अबको मुख्य चुनौती छठ पर्वअघि नदी सफा गर्ने अभियानलाई परिणाममुखी बनाउनुका साथै त्यसपछि पनि निरन्तर अनुगमन, उद्योगबाट निस्कने फोहोरको उचित प्रशोधन र प्रदूषण फैलाउनेमाथि कानुनी कारबाही सुनिश्चित गर्नु हो। सिर्सिया नदीको संरक्षण सफल भएमा वीरगंजको वातावरणीय अवस्था सुधार हुनुका साथै स्थानीय नागरिकको स्वास्थ्य र भावी पुस्ताको सुरक्षित भविष्यका लागि समेत महत्त्वपूर्ण उपलब्धि हुनेछ।

