वीरगंज । नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले आउने २०८४ को निर्वाचनमा मधेश प्रदेशको ३२ वटै निर्वाचन क्षेत्र एमालेले जित्ने लक्ष्यसहित अगाडी बढिरहेको दाबी गरेका छन् ।
विगतका दिनमा मधेश प्रदेशमा नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका प्रयत्न भए पनि यहाँ पहिलो दल बनेको एमालेले आउने २०८४ को निर्वाचनमा मधेश प्रदेशको ३२ वटै सिट जित्ने लक्ष्यसहित आगडी बढिरहेको बताए ।
प्रेस चौतारी नेपाल पर्सा शाखाले बुधबार वीरगंजको होटेल कन्ट्री इनमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराईले संविधान निर्माणपछि मधेशबाट एमाले लखेट्न अभियान नै चलेको थियो, तर ती सबै परिस्थितिको सामना गर्दै एमाले अगाडी आएको बताए ।
‘‘मधेशको आम समस्याको बारेमा सबैभन्दा प्रष्ट नेकपा एमालेले नै बुझ्दै बोल्दै आएको छ,’ इन्चार्ज भट्टराईले भने, ‘मधेश, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता हो भन्नेमा एमाले स्पष्ट रहेको छ, तर केही त्यस्ता तत्वहरुले भड्काउन खोजेपनि एमाले बलियो शक्ति भएको छ ।’’
पार्टीमा आन्तरिक समस्याकै कारण र उम्मेदवार छनौटमा समस्या भएकोले अपेक्षकृत नतिजा ल्याउन सकिएन तर एक बर्ष भित्रमा अन्तरविरोध हल गर्ने र एकताबद्ध रहेको पार्टीलाई अझ सुदृढीकरण गर्दै बलियो शक्तिामा रुपान्तरण गरिने भट्टराईले बताए ।
अहिलेको सरकारले ल्याएको बजेटले आर्थिक संकट नटर्ने बताए । बजेटले आमजनतामा उत्साह नल्याएको भन्दै मुलुकमा पुँजीगत खर्च गर्न नसक्दा आर्थिक संकट भोग्नु परेको एमाले मधेश प्रदेश इन्चार्ज भट्टराईको धारणा थियो ।
नेकपा एमालले जनताको चासोको विषयलाई सडक र संसदबाट सशक्त रूपमा उठाउने बताउदै अहिले सरकारले किसानको समस्यालाई वास्ता नगरेको आरोप लगाए ।
‘‘कृषिको भण्डार मधेश प्रदेशमा पनि बजेटले उत्साह दिएको छैन । तराई मधेशमा सिँचाईको समस्या, मलखादको समस्याको बारेमा सरकार बेखबर छ,’ भट्टराईले भने ।’’ उनले किसानले उत्पादन गरेको कृषिउपजको मूल्य नपाएको भन्दै सरकारले कृषि उत्पादन खरिद सम्झौता (एपीपीए) को व्यावस्था गर्नुपर्ने सुझाए ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एंव पर्सा इन्चार्ज अच्युत मैनाली, केन्द्रिय सदस्य एंव सांसद राजकुमार गुप्ता, केन्द्रिय सदस्य एकवाल मियाँ, पर्सा अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, मधेस प्रदेश कमिटीका सदस्यहरु जयप्रकाश थारु, विचारी यादव, शम्भु गुप्ता, अमर यादव लगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रमको सहजीकरण उपाध्यक्ष तुलसी भण्डारीले गरेका थिए ।सभार:पर्दाफास डेलि

