सर्लाही । भारतीय ब्रान्डको बोरामा कमसल चामल प्याक गरी बिक्री गरेको आरोपमा सर्लाही प्रहरीले बयलबास बजारबाट एक उद्योगीलाई पक्राउ गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ बयलबास बजारस्थित न्यु वैदेही खाद्य उधोगका सञ्चालक भुपेन्द्र साहलाई उपभोक्ता ठगेको आरोपमा पक्राउ गरिएको हो ।
खाद्य उद्योगका सञ्चालक साहले भारतीय ब्रान्डका बोरामा नेपाली कमसल जातको चामल राखेर बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार साहले भारतबाट खाली बोरा ल्याएर नेपाली कमसल चामल प्याक गरी उत्कृष्ट गुणस्तरीय चामल भनी बिक्री वितरण गर्दै आएका थिए ।
प्रहरीले उद्योगबाट १ सय ४६ भारतीय बोरामा प्याक गरेको गुणस्तरहीन चामलसहित २ सय ५१ खाली बोरा बरामद गरेको छ । पक्राउ परेका साहलाई कालोबाजारी गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईकान्तिपुर

