वीरगञ्ज, असोज २८
वडा दशैं २०८० को पहिलोे दिन आज आईतवार देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीहरुले घर घरमा जमरा राखेका छन् भने बारा, पर्सा, रौतहट तथा छिमेकी मुलुक भारतको ग्रामिण भेगहरुमा गाउँ तथा बस्तीपिच्छै नवरात्रीको लागि कलश यात्रा निकालिएको छ ।
बस्ती पिच्छै धुमधामका साथ मनाइने गरिएको नवरात्री ब्रतका लागि कुमारी कन्या तथा व्रतालुहरुले आ आफ्नो पायकपर्ने नदी वा जलाशयमा गई जलभरेर ल्याई सो पवित्र जल लाई देवीको पूजामा अर्पण गरिने परम्परा अनुरुप आज पर्साको प्रसिद्ध गहवामाई मन्दिर, रानीघाट दुर्गा पूजा समिती, पर्साकै ऐतिहासिक विन्दवासनीमाई मन्दिर, विरगञ्ज स्थित राधेमाई मन्दिर, सिमावर्ती भारतीय शहर रक्सौल स्थित मनसामाई मन्दिर लगायत पर्सा तथा बाराका ग्रामिण वस्तीहरुमा समेत बाजा गाँजा, घोडा हाती लगायतका विभिन्न सवारीहरुको समेत प्रयोग गरी भक्तजनहरुबाट भव्यरुपमा कलशयात्रा निकालिएको छ ।
आईतवार देखि विधिवत रुपमा सुरुभएको बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा शुभ साईत जुराएर जमरा राखिएको छ ।घटस्थापना गर्दा पूजा वा दशैंघरमा वैदिक विधिपूर्वक दिप, कलश र गणेशको स्थापना गरी विधिपूर्वक नवदुर्गाको पूजाअर्चनागर्ने प्रचलन रहेको छ । दशैंको पहिलो दिन घटस्थापना गरी माता शैलपुत्रीको पुजाआजा गरिनुका साथै जमरा राख्ने कार्य विधिपुर्वक सम्पन्न भएको छ । जमरा विशेषगरी जौ को राख्ने चलन रहे पनि आजकल गहुँ र मकै मिसाएर पनि जमरा राख्ने प्रचलन बढेको देखिँदै छ ।
साथै वडादशैंको पहिलो दिन आज बारा, पर्सा, रौतहट लगायत तराईका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको व्यापक भिड लागेको छ । आज विहानै देखि बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर प्राँगण, विरगञ्जको प्रसिद्ध गहवामाई मन्दिर, ऐतिहासिक विन्दवासनीमाई मन्दिर, राधेमाई मन्दिर, कालीमाई मन्दिर, पर्साको ग्रामीण क्षेत्रमा रहेको पिपरा स्थित बहुदरमाई मन्दिर, विरञ्चीबर्वा स्थित कालीकामाई मन्दिर, छिपहरमाई मन्दिर, जिराभवानी माई मन्दिर, रक्सौल स्थित मनसामाई मन्दिर, जितपुर सिमरा स्थित गढीमाई मन्दिर लगायतका शक्तिपिठहरुमा आईतवार विहानै देखि भक्तजनहरुको व्यापक घुँइचो लागेको छ ।

