
वीरगञ्ज, कार्तिक ३
आर्थिक मन्दीका कारण यस पालिको दशैंमा पनि साचिकै दशैं आएको जस्तो आफुहरुलाई महसुस हुन नसकेको वीरगञ्जका व्यापारीहरु बताउँछन् ।
आर्थिक राजधानीको रुपमा चिनिने वीरगञ्जमा विगतका दशैंहरुमा आफुहरुलाई भ्याइँ नभ्याइँ हुने ति दिनहरु यस वर्ष त कल्पनामा मात्रै सिमित हुने अनुभव वीरगञ्जका खुद्रा कपडा व्यापारी सँतोष साहले बताए ।
विगतमा दशैंका समयमा वीरगञ्जका सडक तथा बजारहरु एकाविहानै देखि भरिभराउ देखिने गरेको र खुद्रा एवम् थोक व्यापारीहरुलाई पसलमा भ्याइँ नभ्याइँ हुने गरेको तर यस पालि विरगञ्जका मुख्य सडक तथा बजारहरुमा समेत सेवाग्राहीहरुको खासै उपस्थिती देखिएको छैन । दैनिक व्यवसायिक कारोवार पनि सँतुष्टीजनक नरहेको व्यापारीहरु बताउँछन् ।

आज शुक्रवार वडा दशैंको छैठौं दिन सम्म आईपुग्दा समेत वीरगञ्ज मेलामा खासै विक्री हुन नसकेको मेलालाई लक्षित गरी पसल थापेका साना व्यापारी समेत गुनासो गरेका छन् । केही मात्रामा किनमेल गर्न आउने गरेका सेवाग्राहीहरु समेत आर्थिक अस्तव्यस्तताका कारण छिमेकी भारतीय बजार रक्सौलमै गएर दैनिक उपभोगका सामग्रीहरु तथा अति आवश्यकिय सामग्रीहरु किनमेल गर्ने गरेको देखिएको छ ।
यता दिनभरी पसल थापेर घाममा बसिरहँदा समेत व्यापार नचलेका कारण दिउँसोको घाममा सडकमा पसल थापेका पोके व्यसायीहरु प्लाष्टिक तथा कपडाले पसल छोपेर दिनभरी सुतेर दिन विताईरहेको दुखेसो व्यक्त गरेका छन् ।

