
राजु चौरसिया // बारा, कार्तिक- ३
बारा सिम्रौनगढको नगर परिषद रजिष्टरमै सिमित हुँदा कार्यसमितीमा खैलाबैला मच्चेको छ । यस अघि नगर परिषदको लागि भएको बैठक दोहोरो झड्पमा परिणत भएपछि परिषद हुन सकेको थिएन । बिथोलिएको नगर परिषद पुनः सम्पन्न गर्नको लागि कार्तिक ३ गते शुक्रवार विहान ७ बजे गर्ने भनेर समय तोकिएको तथा परिषदका लागि करिब ४०० को सँख्यामा सुरक्षाकर्मी परिचालन गरी कार्यक्रमको सम्पूर्ण तयारी पूरा भई सम्बन्धित सबै व्यक्तिहरु विहान ७ बजे देखि नै कार्यक्रमस्थलमा पतिक्षा गरिरहँदा नगर अध्यक्षले साढे सात बजे अज्ञातस्थलबाट अचानक विज्ञप्ति जारी गरी नगर परिषद सम्पन्न भईसकेको जानकारी गराउँदा नगर कार्यसमितीमा खैलाबैला मचेको छ ।

परिषद विधिवतरुपमा सम्पन्न नगरी रजिष्टरमा माईनट तयार पारी आर्थिक प्रलोभनका आधारमा एकएक गरेर कार्यसमिती सदस्यहरु सँग हस्ताक्षर गराएकोले यो परिषद कदापी मान्य नहुने र आफूहरु न्यायपालिकामा उजुरी गर्ने नगर उप प्रमुखले बताउनुभएको छ ।

साथै नगर अध्यक्षको आर्थिक प्रालोभनमा परी हस्ताक्षर गर्ने कार्यसमिति सदस्यहरुमाथि आज पुनः सर्वसाधारणले हातपात गरेका छन् । भने नगर प्रमुखको सुरक्षाका लागि बासस्थान वरपर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

