राजु चौरसिया, बारा, ०८ कात्तिक // बारा जिल्लाका बिभिन्न नाकाहरुबाट तस्करी धन्दा मौलाउनुको मुख्य कारण प्रहरी नै रहेको पुष्टि हुँदैछ । इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुख प्रहरी निरीक्षक रबिभुषण यादव र प्रहरी सहायक निरीक्षक अमृत यादवको मिलोमतोमा तस्करी धन्दा मौलाउदै गएको बारे एक घटनाले पुष्टि गरेको हो ।
प्रहरी निरीक्षक रबिभुषण यादव इलाका प्रहरी कार्यालय सिम्रौणगढको जिम्मा पाए दिनदेखी नै तस्करका नाइकेहरु संग समन्वय गर्दै तस्करी धन्दा चलाउदै आएको रहस्य बाहिरिएको छ । संगठनमै आफ्नो राम्रो पहुँच रहेको कारण जिल्लाका प्रमुखले केही गर्न नसक्ने घुर्कि लगाउदै तस्करी धन्दा चलाउदै आएको भनी मंगलवारको घटना बाट सर्वसाधारण सशन्कित भएका छन ।
मंगलवार राति करिब ८ बजेको समयमा भारतबाट अवैध तरिकाले नेपाल भित्रिदै गरेको लाखौ बराबरको कपडा स्थानीयले पक्राउ गरी स्थानीय प्रहरी चौकी कचोर्वामा खबर गरेका थिए । प्रहरी चौकी कचोर्वाका प्रमुख प्रहरी सहायक निरीक्षक अमृत यादवले खबर पाउनासाथ इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुख प्रहरी निरीक्षक रबिभुषण यादवलाई खबर त गरे तर प्रहरी निरीक्षक यादवकै आदेशमा प्रहरी सहायक निरीक्षक अमृत यादवले मोवाइल नै स्विच अफ गरेको बारे रहस्य बाहिरिएपछि प्रहरी निरीक्षकको समेत संलगन्ता भएको पुष्टि हुन्छ ।
स्थानीयले पक्राउ गरेको कपडा बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेलाई जानकारी हुनसाथ स्थानीय प्रहरी चौकीका प्रमुखलाई बारम्बार सम्पर्कमा आउन आदेश गरेपनि सम्पर्कमा नआएको प्रहरी श्रोत बताउछन । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोली पुगेपनि स्थानीय प्रहरी चौकीबाट कुनै किसिमको टोली घटना स्थलमा पुग्न नसकेको कारण प्रहरी सहायक निरीक्षक अमृत यादवलाई जिल्ला प्रहरी कार्यालय बारामा झिकाईएपनि इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुखलाई झिकाइएको थिएन ।
यस बिषयमा सत्य तथ्य बुझन बुधवार बिहान हाम्रा सहकर्मी घटना स्थलमै पुगेका थिए । घटना स्थलमा अनुगमन गर्न पुगेका पत्रकारहरु समक्ष स्थानीयहरुले दिनभर सुनशान देखिने कचोर्वा र सिम्रौणगढको नाकाबाट रातभरी तस्करी कार्य सुचारु रहेको दुखेसो पोखे । प्रहरी मात्र रकममा सिमित हुने गरेको, स्थानीयले दुखेसो पोखे । तस्करी धन्दाले मुलुकको राजस्वमा त कमि हुने नै गरेको तर रातभरी सुत्न समेत कठिनाई हुने गरेको दुखेसो पोखे । स्थानीय प्रहरी चौकीदेखी प्रदेश प्रहरी कार्यालय लगायत नेपाल प्रहरी संगठन नै तस्करहरुले चलाउने गरेको आरोप स्थानीयहरुको रहेको छ ।
तस्करी धन्दा सुचारु राख्न अहम भुमिका निर्वाह गरेका प्रहरी निरीक्षक रबिभुषण यादवले राजनीति दलका एक नेता र प्रदेश प्रहरीका प्रमुख डिआईजी जनक भट्टराईको आर्शिवादले कानुनी कारवाहीबाट बच्न खोजिएको प्रहरी श्रोत बताउछन । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख आईजीपि बसन्त कुवरले चासो देखाउने हुन की तस्करकै इशारामा काम गर्ने हुन, हेर्न बाकी रहेको छ ।


