वीरगञ्ज, कार्तिक २६
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज आईतवार साँझ धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी को रुपमा माता लक्ष्मीको श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिंदै छ । हिन्द्यु धर्मावलम्बीहरुको दोस्रो प्रमुख चाडको रुपमा मनाईने तिहारमा माता लक्ष्मीको आगमन हुने र फोहोर घर आँगन तथा ठाउँमा माता लक्ष्मीको बास नहुने धार्मिक मान्यता रहेकोले कार्तिक मसान्तको आगमन देखि नै आजकै दिनलाई लक्षित गरी हरेक घरलाई लिपपोत गरी सफासुँघर र पवित्र बनाई आजको दिन माता लक्ष्मीको पूजा गर्ने परम्परा रहेको छ ।
आज साँझ घर आँगन सफा सुँघर र पवित्र बनाई दिपावली पनि गर्ने गरिन्छ । आजको दिन गाउँ शहरका हरेक घरमा दिया बालेर झिलिमिलि पारी दिपावली गरेर माता लक्ष्मिको स्वागत गरिने धार्मिक मान्यता रहेको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन तिहार पर्व मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको घर बिदा लिएर बस्ने यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।दिपावलीमा बालिने घ्यूको बतीले पर्यावरणको सफाईमा धेरै ठूलो सहयोग हुने बैज्ञानिक कारण पनि रहेको छ ।

कार्तिक कृष्ण औंसी आजको रातीलाई सुख रात्री पनि भन्ने गरिन्छ । आज माता लक्ष्मीको पूजा गर्नका लागि घरको मुलगेट, झयाल, ढोका समेतको सरसफाई गरी पूजा घरमा लक्ष्मी र गणेशको प्रतिमा स्थापना गरी बेलुकी विधि पुर्वक पूजा गर्ने चलन रहेको छ । आज पूजा कोठालाई गाईको गोबरले लिपपोत गरी चोखो बनाई माता लक्ष्मीको आगमन हुने बेलामा बाटो देखाउने उदेश्यले घरको मूलगेट देखि पुजाघर सम्म अविर र पिठोको प्रयोग गरी माता लक्ष्मीको पाईला बनाई बाटो देखाउने चलन समेत रहेको छ ।
आजको साँझ युवतीहरुले सामुहिक रुपमा भैलो खेल्ने परम्परा समेत रहेको छ । तिनैलोकका राजा बलिले आजको दिन भगवानको आगमन हुने दिनमा भलो गीत गाउँने परम्परा बनाए अनुरुप भलो गीत लाई नै वर्तमान सँस्कृतिमा भैलो गीतको रुपमा गाउने चलन रहेको छ । भैलो खेल्ने आउने युवतीहरुलाई सेल रोटी तथा पैसा पनि दानस्वरुप दिने गरिन्छ । आजको दानलाई कार्तिक भनिन्छ । कार्तिक दानले पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।

