वीरगञ्ज, मंसिर १
तराईको प्रमुख चाड छठ सुर्योपासनाको महापर्व आज शुक्रवार देखि सुरु भएको छ । चार दिन सम्म मनाईने छठ पर्वको आज पहिलो दिन नुहाएर खाने दिनको रुपमा मनाईन्छ । सबै श्रद्धालुहरुले अज विहानै गाईको गोबर तथा माटोले घरआँगनलाई लिपपोत गरी चोखो बनाई नुहाएर शुद्ध खाना खाने प्रचलन रहेको छ । आज खासगरी खानामा भात सँगै रहरको दाल, तोरीको साग र कुभिण्ढो(लौकी) को तरकारी खाने चलनचल्ती रहेको छ । यसरी चोेखो भई नुहाएर खाना खाइने ठाउँमा नै छठ व्रत गर्नुपर्ने पौराणिक मान्यता समेत रहेको छ ।

भोली शनिवार छठ पर्वको दोस्रो दिन दिनभर भोकै रही बेलुकी गाईको गोबर र माटोले घर लिपपोत गरी चोखो पारी खीर र रोटी खाने गरिन्छ जसलाई तराईतिर रसियाव रोटी भन्ने गरिन्छ । त्यस्तै आईवार अस्ताउँदै गरेके सुर्यलाई अर्घ दिई पुजागर्ने प्रचलन रहेको छ, जसलाई सँझियाँ घाँट वा सानो घाट भन्ने गरिन्छ भने सोमबार विहान उदाउँदै गरेके सुर्यलाई अर्घ दिई पुजा आराधना गरी व्रत समापन हुने छ जसलाई पार्ना भन्ने गरिन्छ । यसपालि आर्थिक मन्दीका कारण छठ खल्लो हुनसक्ने अनुमान गरिएपनि यसले छठपुजाको रौनकलाई खासै असर गर्न नसकेको देखिएको छ ।
छठ पुजाको लागि नेपालमै प्रसिद्ध वीरगञ्जको घडीअर्वा पोखरी परिसर यसपालिपनि दुलही जस्तै सजाईएको छ । त्यस्तै वीरगञ्जकै रानीघाट, रामगडवा, लक्ष्मणवा, पिपरा, नगवा, विन्दवासनी, महुवन, एकडेर्वा, बाराको कलैया, सिम्रौनगढ, मटिअर्वाँ, बलिरामपुर लगायतका ठाउँहरुमा धुमधाम सँग छठ पुजा भईरहेको देखिएको छ ।

