वीरगञ्ज, चैत्र ११
आज फाल्गुण शुक्ल चतुर्दशी आईतवार विगतका वर्षहरुझै आज पनि नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमा धुमधामका साथ मनाइँदै छ । आपसी भाईचारा तथा खुसियाली साटासाट गर्ने पर्वको रुपमा मनाइँदै आइएको फागु पूर्णिमाको अवसरमा आज पहाडी क्षेत्रमा बसोवास गर्ने अधिकाँश घर घरमा विभिन्न किसिमका रङ्ग तथा अविर एक अर्कालाई दलेर तथा टिका लगाएर मिठा मिठा खानाका परिकारहरु खाई खुसियाली साटासाट गरी मनाईएको छ ।

फागु पूर्णिमा लाई वर्सौ देखिको तिक्तता मेटाई सम्बन्धमा नयाँपन ल्याउने तथा भाईचारा कायम गर्ने पर्वको रुपमा मनाउँदै आइएको भएपनि पछिल्ला केही वर्षदेखि फागु पूर्णिमाको नाममा नसोध्दै कसैको जिउँमा लोला हान्ने, हिलो छ्याप्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने लगायतका कुप्रवृतिहरुको समेत विकास भएको देखिएको छ । यता फागु पूर्णिमामा भित्रिदै गएको विकृतिलाई मध्यनजर गर्दै स्थानिय प्रशासन द्धारा सावधानी अपनाउन सुचना गरिएपनि फागु पूर्णिमा मनाउने क्रममा अव्यवहारिक व्यवहार गरेका ८३ जना पुरुष र ९ महिला सहित ९२ जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै मादक पदार्थ सेवन गरेर चलाउँदै गरेका २९५ वटा दुई पाँग्रे तथा ७ वटा चार पाँग्रे गरी ३०२ वटा सवारी लाई प्रहरीले नियन्त्रण्मा लिएको छ । फागु पूर्णिमा लाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाईएको थियो ।
यता भोली तराईमा मनाइने होली पर्वलाई मध्यनजर गर्दै पर्साको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

होलीमा अप्रिय घट्ना हुन नदिन पर्सा प्रहरीले ट्राफिक व्यवस्थापनमा कडाई गर्नुका साथै सुरक्षा सतर्कता पनि कडा गरिएको बताइएको छ । साथै होली मनाउँने क्रममा कुर्न उत्श्रृङ्खल गतिविधीमा सँलग्न नहुन पनि जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह समेत गरेको छ ।
त्यस्तै आर्थिक मन्दीका बावजुद पनि होली पर्वको अवसरमा विरगञ्ज तथा आसपासका सिमावर्ती बजारहरुमा सेवाग्राहीहरुको चहल पहल बढेको छ । होलीमा किनमेल गर्नेहरुको भिडभाड बढ्नुका साथै कपडा तथा अविर र पेय पदार्थको विक्रिमा वृद्धि भएको स्थानिय व्यवसायीहरुले बताएका छन् । पछिल्ला दिनहरुको तुलनामा व्यवसायिक कारोवारमा वृद्धि भएपनि विगतका वर्षहरुको तुलनामा व्यापार व्यवसायमा खासै बृद्धि नभएको व्यापारीहरुको गुनासो रहेको छ ।

