वीरगञ्ज, भाद्र ७// तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा परि मर्नेको सँख्या २७ पुगेको छ ।
४३ जना यात्रुलाई बोकेर पोखराबाट काठमाडौंका लागि हिडेको यूपी ५३ एफ टी ७६२३ नम्बरको बस आज बिहान तनहुँको अबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर बाट दुई पटकमा गरि काठमाडौ पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभएको छ ।
मृतक सबैको शव आबुखैरेनी गाउँपालिकामा नै राखिएको छ । गाडीमा सवार यात्रीहरु भारतिय नागरिक भएकोले शवलाइ पठाउन आवश्यक प्रक्रिया पुर्याउने काम भैरहेको तथा घट्ना सम्बन्धि विशेष जानकारी लिन र समन्वय गर्न भारतीय राजदुतावासको प्रतिनिधि पनि आजै घट्नास्थलमा पुगिसकेको जानकारी प्राप्त भएको छ ।
दुर्घटनामा परेको बस सङ्गै अर्को बस पनि रहेको तथा सो बसमा दुर्घटनामा परेकाहरुको आफन्तहरु सवार रहेकोले उनिहरुको सहयोगमा मृतकहरुको शवको पहिचान गर्ने कार्य भैरहेको बताइएको छ । दुबै बसको गरि ९० जना भन्दा बढी यात्रु बोकेको यी बसहरुले भाद्र ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएका थिए ।

