सन्जय गुप्ता// वीरगञ्ज, माघ १३//
नेपाल शिक्षक महासङ्घ पर्साले आज आइतबार जनकपुर स्थित माता जानकीलाई ज्ञापन पत्र बुझाएको छ ।
पर्साको बहुदरमाई नगरपालिका स्थित सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विगत ८ महिना देखिको तलब भत्ता र विधालय सञ्चालन खर्च समेत नदिई सिङ्गो शैक्षिक जगतलाई तहस नहस गरेकोमा पिडित शिक्षकहरूको तलब भत्ता निकासा लगायतका सम्पूर्ण कार्यहरु सूचारु गर्न जानकी माताले बहुदरमाईका जन प्रतिनिधिहरुलाई सदबुद्धि दिउन भनी कामना सहितको ज्ञापन पत्र मन्दिर परिसरमै पुगि शिक्षक महासङ्घ पर्साको टोलिले बुझाएको छ ।
महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा गएको शिक्षकहरुको समूह ज्ञापन पत्र बुझाएपछि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले बहुदरमाईको यो समस्या सरोकारवाला सम्पूर्ण निकायलाई अवगत गराउदा समेत कुनै प्रभाव नपरेको निरासाजनक अनुभुतिका साथ माताले वहाँ हरुलाई सदबुद्धी दिनुहुनेछ भने विश्वासका साथ माता जानकी समक्ष ज्ञापन पत्र लिएर आएको बताउनुभयो ।
कार्यक्रममा महासङ्घ पर्साका पदाधिकारीहरु लगायत पर्सेली शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

