श्याम सुन्दर चौरसिया// वीरगञ्ज, बैशाख १८//
१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, वीरगंज इकाईद्वारा भव्यताका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
सङ्घले आज सो दिवसका अवसरमा मोटरसाइकल र्याली, फलफूल वितरण तथा केक काटने लगायतका विभिन्न कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत वीरगंज नगर परिक्रमा गर्दै मोटरसाइकल र्याली निकालिएको थियो। “श्रमको सम्मान गरौँ, श्रमिकको हक अधिकार सुनिश्चित गरौँ” भन्ने नारासहित र्याली सम्पन्न भएको हो।
र्यालीपश्चात नारायणी अस्पतालमा फलफूल वितरण गरिएको थियो भने त्यसपछि केक काटेर श्रमिक दिवस मनाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष श्रीराम गोसाईंले विभिन्न बहानामा श्रमिक शोषण गर्दै आएका पुँजीपतिहरूको विरुद्ध संस्था सधैं सशक्त रूपमा लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो। “मजदुरलाई मजबुर नठान्नुहोस्, श्रमिक कसैको दास होइन,” भन्दै संस्थाका सचिव श्री दीपेन्द्र कलवारले श्रमिकमाथिको शोषण र अत्याचारविरुद्ध संस्था दृढतापूर्वक लडिरहने बताउनुभयो।
अध्यक्ष गोसाइँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज इकाईका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

