मनोज गुप्ता // वीरगञ्ज, जेठ २२//
शुद्ध खानेपानीको योजना रुकेपछी रौतहटको गौर-४, स्थित नेरामावि टिकुलिया विवादको सिकार हुन पुगेको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी सुरु हुन लागेको शुद्ध खानेपानी आपूर्ति योजनामा असहज परिस्थिती सिर्जना भएको देखिएको छ। नेपाली कांग्रेसका नगर सभापति तथा मेयर पदका प्रत्यासी मोहन कुमार यादवको पहलमा अगाडि बढाइएको उक्त योजना गौर नगरपालिकाका वर्तमान मेयर शम्भु साहको हस्तक्षेपका कारण रोकिएको आरोप लगाइएको छ।
विगत केही समयदेखि श्री संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधाम मधेश प्रदेश नेपालमा पटक-पटक पहल गरी योजना स्वीकृत गराइएका यादवका अनुसार, सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भई निर्माण कम्पनी स्थलमा मेशिनरीसहित पाइप जडान गर्न पुगेको थियो। तर, नगरप्रमुख शम्भु साहले “मेरो समन्वयबिना कुनै पनि कार्य अघि बढ्न सक्दैन” भन्दै योजना रोक्न निर्देशन दिएको नेता यादवले आरोप लगाएका छन ।
“शुद्ध खानेपानीको अत्यावश्यकताका बीच विद्यालय, अभिभावक र स्थानीयवासीको निरन्तर अनुरोधलाई सम्बोधन गर्दै मैले व्यक्तिगत पहलमा योजना पार गराएको तर जनहितको विषयमा पनि नगर प्रमुखको व्यक्तिगत अहंकारले विकास रोक्नु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण रहेको समेत यादवको आरोप छ ।

स्थानीय स्रोतहरूका अनुसार गौर नगरपालिकाभित्र अधिकांश सर्वसाधारणको घरमा ५०–८० फिट गहिराइका हैण्डपम्प मात्र छन्, जसबाट आवश्यक मात्रामा शुद्ध पानी पाउन कठिन छ। सार्वजनिक विद्यालयमा शुद्ध र सुरक्षित पानीको पहुँच अझै पनि चुनौतीपूर्ण रहेको अवस्थामा यस्तो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको स्थानीय शिक्षकमाझ धारणा छ।
यस घटनाले विकास योजनामा राजनीतिक दखल, समन्वय अभाव र नेतृत्वदायी तहमा विद्यमान व्यक्तिगत निर्णय प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।
गौर नगरपालिकामा सार्वजनिक हितका विषयमा समेत राजनीतिका कारण अवरोध आउनु निन्दनीय भएको भन्दै स्थानीय नागरिक समाज, अभिभावक र शिक्षा क्षेत्रका व्यक्तिहरूले निराशा व्यक्त गरेका छन्।

