
रञ्जित पाण्डेय// वीरगञ्ज, असार १२//
पछिल्ला दिनमा जनताको सुख-दुखमा साथ दिइरहेका युवा नेता तथा समाजसेवी टेकबहादुर बलम्पाकी स्थानीय स्तरमा आशाको केन्द्र बन्दै गएका छन्। सामाजिक काम, सेवामुलक कार्यक्रम र पीडितसँगको प्रत्यक्ष संवादमार्फत बलम्पाकी जनतामा लोकप्रियता कमाउँदै छन्।
हालै सम्पन्न निःशुल्क दन्त शिविर कार्यक्रममा टेकबहादुर बलम्पाकीको सक्रिय उपस्थिति देखिएको थियो। उक्त कार्यक्रममा गाउँका बृद्धबृद्धा, महिला, बालबालिका लगायत दर्जनौँ मानिसहरूले निःशुल्क उपचार सुविधा पाएका थिए। वृक्षको छायाँमा बसेर उनले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विषयमा सरोकार राख्ने बुँदाहरू सुने र सम्बोधनको प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी स्थानिय बासिन्दा हरिप्रसाद यादवले भने, “बलम्पाकीज्यू जस्ता युवा नेताले गाउँ समाजको हितका लागि काम गर्न थालेको देख्दा हामीलाई धेरै आश लाग्न थालेको छ। उहाँको व्यवहार सरल र जनमुखी छ।”
बलम्पाकीले आफुलाई ‘पदको लागि होइन, परिवर्तनको लागि राजनीति’ भन्ने आदर्शमा टिकाउने बताउँदै आएका छन्। उनले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, विपन्न वर्गलाई खाद्यान्न सहयोग, वृद्धवृद्धालाई स्वास्थ्य चेकजाँच, र रक्तदान जस्ता कार्यक्रम निरन्तर गर्दै आएका छन्।
टेकबहादुर बलम्पाकीले भने, “जनताको साथ, विश्वास र स्नेह नै मेरो शक्ति हो। म सदैव जनताको हितमा समर्पित रहनेछु।”

