
मनोज गुप्ता// वीरगञ्ज, असार २९//
विकट पालिकाको रुपमा रहेको गोरखाको धार्चे गाउँपालिकामा श्रश्यदृश्यका माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलिमेडिसिन’ सेवा सुरु भएको छ । धार्चे गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा सो सेवा सुरु गरिएको हो ।
विकट ग्रामीण क्षेत्रका महिला, बालबालिकालाई, गर्भवती र सुत्केरीहरुलाई लक्षित गरी उक्त सेवा सुरु गरिएको गोरेटो गारेखाको कार्यकारी निर्देशक पवनरमण खनालले जानकारी दिएका छन् ।
हालको सुरुवाती चरणमा धार्चे गाउँपालिकाअन्तर्गतका सात वडामा रहेका सात स्वास्थ्यचौकीमा ‘टेलिमेडिसिन सेट’ स्थापना गरेर सेवा सञ्चालन गरेको छ ।
टेलिमेडिसिनको सेटमा एउटा क्यामेरा, टेलिभिजन, टेलिफोन र स्पिकर हुन्छ जसको मद्दतले टाढा टाढाका विरामीहरुको अवस्था बुझ्न र स्वास्थ्य सम्बन्धि परामर्श दिन सकिन्छ । धार्चेका ७ वटै वडामा रहेका स्वास्थय चौकी र प्रदेश अस्पताल गोरखामा उक्त सेट स्थापना गरेर सेवा सुरु गरिएको आयोजकले जनाएका छ्न ।
‘ग्रामीण भेगका बिरामीको स्वास्थ्यमा जटिलता आएमा वा स्वास्थ्य चौकीबाट सेवा सम्भव नभएमा टेलिमेडिसिनका माध्यमबाट सेवा लिन सकिन्छ ।’ धार्चेको स्वास्थ्यचौकीमा बिरामी उपचारका क्रममा केही समस्याहरु देखिएमा टेलिमेडिसिनका माध्यमबाट प्रदेश अस्पतालका विशेषज्ञसँग सिधै परामर्श लिन सकिने जनाईएको छ ।
‘धार्चेका जुनसुकै स्वास्थ्यचौकीमा उपचारका क्रममा केही समस्या देखिए सिधै प्रदेश अस्पतालमा सम्पर्क गर्न मिल्ने ‘सिस्टम’ छ । उताबाट आएको फोन अस्पतालको नर्सिङ स्टेशनले उठाउँछ समस्याअनुसार विषयगत डाक्टरसँग सम्पर्क गराइदिने कुरा गोरेटो गोर्खाका खनालले बताएका छन् ।
हाल सेट अप कार्य भैरहेको तथा आगामी साउन १ गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन हुनेछ ।
गोरखा जिल्लामा पहिलो पटक धार्चे गाउँपालिकामा टेलिमेडिसिनको व्यवस्थित प्रयोग सुरु गरिएको हो । यसका माध्यमबाट दुर्गम क्षेत्रका नागरिकले गाउँमा विशेषज्ञ डाक्टरको परामर्शसहित उपचार पाउने उनले भएका छन् ।
यो सेवा सुरु भएपछि डाक्टरलाई देखाउनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ । भिडियो परामर्शका क्रममा विशेषज्ञ डाक्टरले आवश्यक भए मात्र बिरामीलाई बोलाउने नत्र गाउँमै उपचार हुने भएको छ ।

