
वीरगञ्ज, कार्तिक २०
पर्सा जिल्ला अदालतले व्यवस्थापकीय सुधारमा कोल्टो फेर्दैछ । अदालतमा काम भएका एकजना सेवाग्राही सँगै ५÷५ जना विचौलियाहरु आउँदा हुने गरेको भिडभाड, तनाव, सेवाग्राही बीच किचलो र खिचातानीका कारण अदालको कार्य समेत प्रभावित बनेको कुरालाई मध्यनजर गर्दै श्रेस्तेदार (उपसचिव) घनेन्द्र अधिकारीको नेतृत्वमा कार्यालयको व्यवस्थापकिय कार्यमा परिमार्जन गरिएको छ ।
पर्सा जिल्ला अदालतमा हुने गरेको अनियन्त्रित भिडभाड लाई व्यवस्थापन गर्न कार्यालय परिसरको प्रमुखद्धारमा तारेख पर्चाको आधारमा सेवाग्राही कार्ड दिने र कार्डधारीलाई मात्र सेवाग्राही मानी अदालत परिसर भित्र छिर्नदिने व्यवस्था गरिएको छ । सेवाग्राही कार्डको व्यवस्था भएदेखि अदालत भित्र हुने गरेको अनाधिकृत भिडमा धेरै कमी आएको र कामकाजमा समेत प्रभावकारिता बढेको देखिएको छ ।
सेवाग्राही सँगै आउने विचौलियाहरुले अदालतका कर्मचारीहरुलाई समेत प्रभावमा पार्ने प्रयास गरी अदालती कामकाजलाई प्रभाव पार्ने पहिला पहिला देखिने गरेको विकृतिलाई निर्मूल पार्ने आफ्नो अभियानमा कार्यालयका अन्य कर्मचारीहरुबाट समेत राम्रो साथ र समर्थन पाएको स्रेस्तेदार अधिकारीले बताउनुभयो ।
सेवाग्राहीले सुरु सुरुमा अप्ठ्यारो मानेको तर विस्तारै बानी पर्दै गएकोले अब पछिल्ला दिनहरुमा भिड व्यवस्थापन गर्न आफुहरुलाई पनि सहज भएका अदालतको प्रमुख प्रवेशद्धारमा डियुटी गर्ने प्रहरीहरुले बताएका छन् ।

