
मनोज गुप्ता // वीरगञ्ज, असोज ०६//
आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको चहलपहल बढेको छ ।
बडादशैको आज पहिलो दिन देशैभरिका शक्तिपिठहरुमा माता दुर्गाको पूजाआराधनाका लागि कलश स्थापना गरिएको छ ।
आज विहानै श्रद्धालुहरु नुहाई धुवाई गरि चोखो भै सामूहिक रूपमा बजागाजाका साथ नजिकैको नदि वा जलाशय बाट जल ल्याई देवि वा पूजा घरमा विधिवत कलस स्थापना गरिएको छ ।
घट्स्थापनाको अवसरमा आज वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिर, बाराको प्रसिद्ध गढिमाई मन्दिर, वीरगञ्जको बिर्ता माता, काली माता, विन्दवासनी माता मन्दिर, पर्साको ग्रामीण भेगमा रहेको बहुदरमाई, कालिकामाई, छिपहरमाई लगायतका मन्दिर तथा गाउँ गाउँमा नवरात्री गर्ने श्रद्धालुहरु द्वारा विधिवत कलस स्थापना गरि पूजा पाठ सुरु भएको छ ।
पहिलो दिन माता शैलपुत्रीको पूजा आराधना गरिएको छ । बडादशैको अवसरमा वीरगञ्जको गहवामाई मन्दिरमा गतवर्षहरु जस्तै यसवर्ष पनि भक्तजनको व्यापक भिड बढेको छ । भने पर्सा प्रहरी द्वारा दशै मेलालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउनुका साथै वीरगञ्जका विभिन्न ठाउँमा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ ।