Home Blog Page 43

एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा

0

 

१६ भदौ, काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरू र १२० जना नायव प्रहरी उपरीक्षा ९डीएसपी०हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।
कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।
यस्तै, दाङका प्रमुख वीरबहादुर ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ ।
नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखा सरुवा गरिएको छ ।
पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर पठाइएको छ ।
सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगंज, उदयपुरका ज्ञानेन्द्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरोमा सरुवा गरिएको छ । साभार ः अनलाईन

स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई जना पक्राउ

0

 

सिरहा — स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले सिरहाको माडरस्थित कालीचौकबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१७ माडरस्थित कालीचौकमा शुक्रबार जाँच गर्ने क्रममा बीआर ७ एस ४२२४ नम्बरको कारको सिटमुनि लुकाई राखेको अवस्थामा स्रोत नखुलेको ४४ लाख रुपैयाँ बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रविन्द्रराज पाण्डेका अनुसार स्रोत नखुलेको रकमसहित कार चालक सिरहा नगरपालिका–१७ माडरका ५२ वर्षीय प्रेमकुमार यादव र ७ नम्बर वडाका ४२ वर्षीय सञ्जयकुमार साहलाई नियन्त्रण लिइएको हो ।
बरामद गरिएको रकमसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साभार ः ईकान्तिपुर

हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय

0

 

काठमाडौं– २०७९ वैशाखमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाउँदै हुन्डी कारोबारविरुद्धको कारबाहीमा कडाइ गर्न निर्देशन दियो । स्थानीय तहको चुनावको मिति नजिकिरहेका बेला हुन्डी कारोबारीहरु सक्रिय भएको सूचनापछि प्रहरी प्रधान कार्यालयले उक्त पत्र पठाएको थियो ।
प्रहरी प्रधान कार्यालयको लिखित निर्देशनपछि पर्सा प्रहरीले हुन्डी कारोबारीमाथि निगरानी बढायो । हुन्डी कारोबारमा संलग्न भएको आशंका गरिएकाहरुको सूची तयार भयो । सूचीमा नाम समावेश भएका प्रमुख आशंकितमध्ये एक थिए राज होजियारी भनिने राज साह । पर्सा प्रहरीले साहलाई कार्यालय (जिल्ला प्रहरी कार्यालय)मा उपस्थित हुन भन्दै फोन ग¥यो । जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने फोन आएपछि साहले प्रहरी उपरीक्षक एसपी (हाल प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’) बेलबहादुर पाण्डेलाई फोन गरे ।
‘मैले कुनै हुन्डीवाला त्यस्तो पैसा लेनदने त गरेको छैन, हजुरको पालामा । अब हेडक्वार्टरबाट चिठी आएछ,’ साहले पाण्डेलाई फोन गरेर सुनाए । पाण्डेले भने नडराउन भन्दै साहलाई आश्वस्त पार्न खोजे ।
हाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका पाण्डे हुन्डी कारोबारमा जोडिएको विषय नेपाल लाइभले यसअघि प्रमाणसहित प्रकाशमा ल्याएको थियो । नेपाल लाइभले प्राप्त गरेको थप प्रमाणअनुसार एसएसपी पाण्डे हुन्डी कारोबारविरुद्ध प्रहरी अनुसन्धान असफल बनाउन पनि सक्रिय रहेको देखिएको छ ।
हुन्डी कारोबारी साहलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्न खोज्दा एसएसपी पाण्डेकै योजनामा साहले उन्मुक्ति पाएको प्रमाण नेपाल लाइभले प्राप्त गरेको छ ।
पर्सा प्रहरी प्रमुखबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय पुगेका पाण्डेले ‘माथि’बाटै ‘च्यानल’ मिलाएर साहलाई जोगाएका थिए । पर्सा प्रहरी प्रमुखबाट ८ मंसिर २०७८ मा पाण्डेको सरुवा हुन्छ । त्यसपछि रमेश बस्नेत पर्साको नयाँ प्रहरी प्रमुख बनेर खटिन्छन् ।
बस्नेत नै प्रमुख भएका बेला प्रहरी प्रधान कार्यालयले हुन्डी कारोबारीविरुद्ध कडाइपूर्वक कारबाही गर्न भन्दै लिखित निर्देशन दिएको थियो । तर प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा बसेर पाण्डेले अनुसन्धानलाई प्रभावित पारिरहे ।
नेपाल लाइभले प्राप्त गरेको पछिल्लो अडिओ प्रमाणमा साहले पर्साबाट पाण्डेलाई फोन गर्दै आफूलाई प्रहरीले पक्राउ पो गर्ने हो कि भन्दै चिन्ता जाहेर गरेको सुनिन्छ । पाण्डे भने त्यस्तो केही नहुने भन्दै आश्वस्त पारिरहेको अडिओमा सुनिन्छ ।
टेलिफोन कुराकानी–१
एसपी पाण्डे – हजुर, हजुर, गुड मर्निङ ।
हुन्डी कारोबारी साह –दाइ नमस्ते, गुड मर्निङ दाइ ।
एसपी पाण्डे – नमस्कार, म अघि ड्राइभिङमा उकालोमा थिए ।
हुन्डी कारोबारी साह – ए । एउटा के काम छ । के भन्छ त्यो… मलाई जिल्लाबाट फोन आए थियो, बुझ्नुभयो दाइ ।
एसपी पाण्डे –हजुर ।
हुन्डी कारोबारी साह – मैले कुनै हुन्डीवाला त्यस्तो पैसा लेनदने त गरेको छैन, हजुरको पालामा । अब हेडक्वार्टरबाट चिठी आएछ ।
एसपी पाण्डे – ए होइन, होइन । एउटा उजुरी हाल्या छन् अरे ।
हुन्डी कारोबारी साह – अँ ।
एसपी पाण्डे– अब उजुरी हालेपछि यसो केही एउटा कागज लेखिदिए हुन्छ । केही गर्नुपर्दैन ।
हुन्डी कारोबारी साह – सर थुनथान त गर्दैन नि?
एसपी पाण्डे– होइन, होइन त्यस्तो केही होइन । त्यस्तो केही पनि होइन भाइ ।
हुन्डी कारोबारी साह– ए हुन्छ दाइ । म जाउँ त?
एसपी पाण्डे– त्यो उजुरी हो । अब केरे बुझ्नी क्रममा यसो उ ग¥या होलान्, केही छैन ।
हुन्डी कारोबारी साह– म डीएसपीसँग गएर भेट गरौं सर?
एसपी पाण्डे– हुन्छ, हुन्छ । ल जाने, त्यहाँ गएर एउटा कागज गरिदिने । अरु केही पनि होइन ।
हुन्डी कारोबारी साह– ए, हस, हस धन्यवाद ।
एसपी पाण्डे– अँ.. भाइले त्यो नगर्न पनि मिल्छ । म कारोबार पनि गर्दिन, म केही पनि बोल्दिन भन्न पनि मिल्छ । किनभने भाइ सम्बन्धित मान्छे पनि होइन ।
हुन्डी कारोबारी साह– होइन म गर्दिन्छु । मेरो आफ्नै फर्म छ, म सबै चिज यहाँ…. ।
एसपी पाण्डे – हैन, हैन । त्यहाँ बुझम् न पहिला बुझम् ।
हुन्डी कारोबारी साह– ल, ल ।
एसपी पाण्डे– त्यस्तो केही छैन । पहिला एकपटक बुझौं ।
हुन्डी कारोबारी साह – ल, ल ।
एसपी पाण्डे– बुझौं, अनि बल्ल गर्ने नगर्ने निर्णय गरौं है त ।
आफू फस्ने डरले साहले फोन गर्दा पाण्डे प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा थिए । साहसँग कुरा गरेपछि उनले हुन्डी कारोबारविरुद्धको अनुसन्धानको नेतृत्व गरिरहेका पर्सा प्रहरीका तत्कालीन अधिकृतलाई फोन गर्छन् । जुन कुरा पाण्डेले साहलाई फोनमार्फत् नै बताएका छन् ।
दोस्रोपटक पाण्डे आफैंले साहलाई फोन गर्छन् । आफूले डीएसपी ओम (जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका तत्कालीन डीएसपी ओमप्रकाश खनाल)सँग कुरा गरेको भन्दै पाण्डेले साहलाई चिन्ता नलिन भन्छन् ।
टेलिफोन कुराकानी–२
एसपी पाण्डे– ए राज भाइ‘ ।
हुन्डी कारोबारी साह– हजुर ।
एसपी पाण्डे– मैले ओम (पर्साका तत्कालीन डीएसपी ओमप्रकाश खनाल)सँग कुरा ग¥या थिएँ ।
हुन्डी कारोबारी साह– हजुर ।
एसपी पाण्डे– ए होइन, केही होइन । त्यो… हुन्डी सुन्डीको लागि चाहिँ अलि कडैपूर्वक कारबाही गर्नुभन्ने हिसाबले केरे कार्यान्यन गर्नु भनेर पत्र आएछ ।
हुन्डी कारोबारी साह– हजुर, हजुर । अब उही भाइहरुसँग केही सूचना छ कि भनेर यसो सूचना दिएर प्रहरीलाई केही सहयोग हुन्छ कि भन्ने हिसाबले रछ अरु केही होइन ।
हुन्डी कारोबारी साह– दाइ म जाउँ भेट गर्न?
एसपी पाण्डे– अँ, ओम(डीएसपी ओमप्रकाश खनाल)लाई भेट्दा हुन्छ । केही त्यो केही होइन । कागज सागज गर्नुपर्ने खालको पनि केही होइन रैछ ।
हुन्डी कारोबारी साह– हस, हस ।
एसपी पाण्डे– हँ… यसो भाइसँग केही सूचना छ कि भनेर अब त्यो लिन खोज्या होलान् ।
हुन्डी कारोबारी साह– ए मेरो त हर्ट (मुटु) एकदम परिसब तबतब बढिरहेछ दाइ… ।
एसपी पाण्डे– हजुर?
हुन्डी कारोबारी साह– मेरो त हर्ट (मुटु) नि एकदम तबतब बढिरहेछ दाइ ।
एसपी पाण्डे– के रे, के रे?
हुन्डी कारोबारी साह– मेरो हर्ट (मुटु) नि एकदम….
एसपी पाण्डे– ए होइन, होइन भाइ । त्यो आत्तिनै पर्दैन ।
हुन्डी कारोबारी साह– त्यही त दाइ मैले कसैसँग त्यस्तो लेनदेन त केही गरेको छैन ।
एसपी पाण्डे– होइन, होइन । मेरो कुरा सुन पहिला । त्यो केही पनि होइन । भाइसँग सूचना भयो भने यसो सूचना पाउँथे भनेर हो । भाइसँग अब सूचना छैन, केही छैन केरे । त्यो नभएपछि मसँग केही छैन, जानकारी छैन, सम्पर्क छैन, हँ‘ मेरो यहाँ केही भा बेला, कोही भा बेला सहयोगका लागि आएर कहिले कतै वकिल सापलाई कतै केही भन्या भा हो नत्र मेरो केही छैन भन्दा हुन्छ ।
हुन्डी कारोबारी साह– हस, हस ।
एसपी पाण्डे– त्यस्तो केही छैन । त्यो केही पनि होइन ।
पाण्डेसँगको टेलिफोन कुराकानीमा साहले आफ्नो मुटु काँपिरहेको बताउँछन् । त्यतिबेला प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर पाण्डेले भने केही नहुने भन्दै चिन्ता नलिन भन्छन् । सायद पाण्डेले त्यतिबेलासम्म ‘केस’ मिलाइसकेका थिए ।
पाण्डेले पुनः साहलाई फोन गर्छन् । ‘तेस्रोपटक’को फोन कुराकानीमा उनले डीएसपी ओमप्रकाश खनालसँग आफूले कुरा गरिसकेकाले एकपटक गएर भेट्न भन्छन् ।
टेलिफोन कुराकानी–३
एसपी पाण्डे– हलो ।
हुन्डी कारोबारी साह– हजुर ।
एसपी पाण्डे– हैन अघि त्यो बोल्दाबोल्दै काटियो ।
हुन्डी कारोबारी साह– हजुर ।
एसपी पाण्डे– अघि बोल्दाबोल्दै काटियो ।
हुन्डी कारोबारी साह– ए हजुर ।
एसपी पाण्डे– नाइ, नाइ त्यो केही चिन्ता लिनु पर्दैन । नजाँदा पनि हुन्छ । नभए एकपटक ओम सापलाई फोन गरेर… ।
हुन्डी कारोबारी साह– म आएछु, आएछु ।
एसपी पाण्डे– ल, ल, ल ।
पर्साका तत्कालीन डीएसपी खनालले हुन्डी कारोबारविरुद्धको अभियान चलिरहँदा तत्कालीन एसपी पाण्डेले आफूलाई फोन गरेको स्वीकार गरे । ‘हेडक्वार्टरले हुन्डी कारोबारीलाई कारबाही गर्नुभनेपछि हामीले साहलाई फोन गरेका हौँ । तर जति फोन गरे पनि उनी आएनन् । पछि एसपी पाण्डे सापले मलाई नै फोन गरेर साहविरुद्ध के उजुरी परेको हो भनेर सोधपुछ गर्नु भएको थियो । मैले हुन्डी कारोबारीलाई कडा कारबाही गर्नु भनेर हेडक्वार्टरबाट पत्र आएकाले साहलाई संकास्पद देखिएपछि फोन गरेर बोलाएका हौँ भनेको थिएँ । पाण्डे सरले मलाई फोन गरेर बुझेपछि मात्रै उनी (साह) प्रहरीकहाँ आएका थिए । त्योभन्दा अघि हामीले जति फोन गरे पनि उनी आउन मानेका थिएनन्’ डीएसपी खनालले भने ।
त्यतिबेला साहविरुद्ध किटानी जाहेरी परेको थिएन । हुन्डी कारोबारीलाई कारबाही गर्नु भन्ने व्यहोराको पत्रका आधारमा अनुसन्धान अगाडि बढाइएको तत्कालीन डीएसपी खनाल बताउँछन् ।
‘त्यतिबेला प्रमाण नभएकाले मुद्दा दर्ता लगायत कारबाही गर्न सकेनौं । पछि हामी चुनावमा खटियौँ । त्यतै व्यस्त भइयो । केही समयपछि त मेरै सरुवा भयो,’ खनालले भने ।
त्यतिबेला प्रहरी कारीबाहीबाट जोगिएका साहविरुद्ध प्रहरीले अहिले पनि अनुसन्धान अगाडि बढाएको छैन । प्रमाण नपुगेको भनिए पनि साहलाई जोगाउन पाण्डे सक्रियतापूर्वक लागिरहेको स्रोतको दाबी छ । अहिलेसम्म पनि पाण्डेकै ‘पावर’का कारण साह कारबाहीबाट जोगिरहेको स्रोतको दाबी छ ।
एसएसपी पाण्डे भने आफ्नो व्यक्तिगत कारोबारको कुरालाई हुन्डीसँग जोडिएको दाबी गर्छन् । नेपाल लाइभसँग कुरा गर्दै पाण्डेले दाबी गरे, ‘व्यक्तिगत कारोबारको हिसाब हो । त्यसलाई हुन्डी कारोबार भनियो ।’
यद्यपि प्रहरी प्रधान कार्यालयले भने पाण्डेमाथि अनुसन्धान सुरु गरिएको बताएको छ । पाण्डे हुन्डी कारोबारमा जोडिएको विषय नेपाल लाइभले प्रमाणसहित प्रकाशमा ल्याएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएको छ ।
प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएर अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । सभार ः नेपाल लाईभ

वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

0
काठमाडौँ । वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले महानगरपालिकाको उक्त निर्णय उपर कारण देखाऊ आदेश जारी गरेको हो ।

 

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष वडाअध्यक्षलाई बनाउने गरी आफ्नो शिक्षा ऐन संशोधन गरेको थियो । त्यसको विरुद्धमा १८ वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले काठमाडौँ महानगरपालिका, नगरसभा, नगर कार्यपालिका, नगर प्रमुख बालेन्द्र शाह र शिक्षा विभागलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । उक्त रिटमाथि कारण देखाऊँ आदेश जारी गर्नुका साथै निर्णय कार्यान्वयन गर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको हो ।

महानगरपालिकाले संविधान, यसअघिको शिक्षा ऐन र नियमावली विपरीत हाल रहेका विद्यालय व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने कानुनी प्रावधान गरेको छ ।

के कति कारणले त्यस्तो कानुनी प्रबन्ध गरिएको हो भनेर कारण देखाऊ आदेश जारी गरेको छ । साउन ३० मा बसेको काठमाडौँ महानगरको नगरसभाले हाल ती विद्यालयमा रहेका व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गर्ने निर्णय गरेको थियो । सोही आधारमा ऐन समेत संशोधन गरेको थियो ।

सर्वोच्चको उक्त आदेशसँगै विघटन गरिएका ८९ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिलाई काम गर्ने बाटो खुलेको छ । साभार : रातोपाटि

 

हुण्डी कारोबारीहरु संग राज र अजित साहले प्रहरी प्रशासनको नाममा मासिक २२ लाख लिने गरेको रहस्योद्घाटन

0

sharethis sharing button

वीरगंज । हुण्डी कारोबारीहरु सँग राज साह तेली र अजित साहले प्रहरी प्रशासनको नाममा मासिक २२ लाख लिने गरेको रहस्य उजागर भएको छ । प्रहरी प्रशासनले हुण्डी कारोबारीहरुको भरियाहरुलाई समातने वा अन्य कुनै प्रशासनिक समस्या भएमा हामी मध्यस्थकर्ताको भुमिका निभाई छोडाई दिने भन्दै मासिक २२ लाख लिने गरेको समाचार स्रोतले जनाएको छ ।

सर्लाही निवासी राजले वीरगंजको रानीघाटमा न्यु राज होजियारी फर्म खोली देखावटी रुपमा काम गर्दै आए पनि उनको मुख्य कारोबार हुण्डी संग नै जोडिएको स्रोतको कथन रहेको छ । हुण्डी कारोबारमा राज संग हिस्सेदार रहेका अजित साहले देखावटी रुपमा गाई पालन गर्ने गरेको स्रोतले जनाएको छ ।

भारतको रक्सौल निवासी अमरिस, बब्लु राज, सन्नी महतो, सोनु सर्राफ, गान्धी गुप्ता कलवार, अनुराग लगायतको हुण्डी साहुको अबैध रकम लिएर आउने भरियाहरुलाई बेला–बेलामा चौक–चौकबाट प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय पर्सा वा बारामा बुझाउंदा राज र अजितले प्रहरी कार्यालयमा पुग्ने गर्छन ।

प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरुलाई पहिला देखि नै महिनवारी निश्चित रहेको हुनाले ती जिम्मेवार व्यक्ति र राज साह बीच छलफल हुन्छ र सो छलफल पश्चात एउटा नजिर निकालेर हुण्डी भरियाहरुलाई छोडाउने काम हुन्छ । हुण्डी भरियाहरुलाई छोडाउने अभियानमा राज र अजित साहले वीरगंजका केही बैंकका म्यानेजर र मनी चेन्जरहरुलाई सेटिङ्गमा मिलाई राखेको हुनाले भरियाहरु पक्राउ परे पश्चात प्रहरीकै सल्लाहमा कहिले बैंकबाट रकम निकालेको स्टेटमेन्ट पेश गर्दछन् कहिले मनी चेन्जरबाट ल्याएको प्रमाण पेश गरेर भरियाहरुलाई छोडाउने गरेको स्रोतको भनाई रहेको छ ।

यदि कुनै बेला प्रहरीबाट भरियाहरुलाई उन्मुक्ति हुने अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमै जिल्ला सरकारी वकिलको कार्यालयबाट भरियाहरुलाई उन्मुक्ति दिने कार्य हुने गरेको स्रोत बताउदछन् । सरकारी वकिलको कार्यालयबाट पनि अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमा नै सम्मानित अदालतबाट पनि धरौटीमा छोडाउने कार्य राज र अजित साहले गर्ने गरेको बताईन्छ ।

बारा जिल्लाको प्रसौनी निवासी सुभाष साह तेलीले भारतीय हुण्डी कारोबारीहरु संग कुरो मिलाई राज र अजित साहको जिम्मा दिने गरेको बताईन्छ । सुभाष साहको आफ्नै भवानी मनी ट्रान्सफर रहेको छ । जसको खुल्ला रुपमा कही कतै कार्यालय देखिएको छैन् । उनी हुण्डीकै लागि भुमिगत तरिकाले मनी ट्रान्सफर सञ्चालन गर्ने गरेको बताईन्छ ।

पेशाले सुभाष शिक्षक भए पनि उनको मुख्य कारोबार हुण्डी नै हो । उनका भाई रंजित साह भन्ने रामेश्वर साह हुण्डीकै कारोबारमा संलग्न रहेको बताईन्छ । हुण्डी कारोबारीको दलालको रुपमा चर्चा पाईसकेका राज साहले बरिष्ठ प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे बीचको अडियो रेकर्ड सोमबार केही सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

सो समाचारलाई बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले व्यक्तिगत कारोबारको हिसाबलाई हुण्डी संग जोडेर भ्रमपूर्ण समाचार सम्प्रेण गरिएको भन्दै खण्डन गरेका छन् । पाठकवृन्द, यहांहरु आफै मुल्यांकन गर्नुस । राज साह तेली र बरिष्ठ प्रहरी उपरिक्षक बीच कस्तो व्यक्तिगत सम्बन्ध हुन्छ ? पटक–पटक भएको कुराकानी अडियो रेकर्ड सार्वजनिक भएको थियो ।

राज साह तेलीले सञ्चालन गरेको न्यु राज होजियारीमा टाई, बेल्ट, आईकार्ड, होलोग्राम, टिसर्ट, स्विटर लगायतका युनिफर्महरु बन्ने गरेको छ । के बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले लाखौं लाखको राज होजियारी संग युनिफर्महरु खरिद गरेका छन् त ? कस्तो व्यक्तिगत सम्बन्ध पाठकहरुलाई बुझने गरी खण्डन आईदिए राम्रो हुन्थ्यो ।

हुण्डी कारोबार संग जोडिएर राज, अजित र सुभाष साहले करोडौं करोड कमाएका छन् र अझ पनि कमाउने गरेको स्रोतको कथन रहेको छ । यसैबिच मंगलबार प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

मैनाली नेतृत्वको छानबिन समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि सोही अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयलले जनाएको छ । अझ पनि पर्सा र बारा प्रहरी संग सुमधुर सम्बन्ध बनाएर बसेका राज, अजित र सुभाष साह माथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् । साभार : पर्दाफास डेलि

कमसल चामल राखेर बेचेको आरोपमा उद्योगी पक्राउ

0

sharethis sharing button

सर्लाही । भारतीय ब्रान्डको बोरामा कमसल चामल प्याक गरी बिक्री गरेको आरोपमा सर्लाही प्रहरीले बयलबास बजारबाट एक उद्योगीलाई पक्राउ गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ बयलबास बजारस्थित न्यु वैदेही खाद्य उधोगका सञ्चालक भुपेन्द्र साहलाई उपभोक्ता ठगेको आरोपमा पक्राउ गरिएको हो ।
खाद्य उद्योगका सञ्चालक साहले भारतीय ब्रान्डका बोरामा नेपाली कमसल जातको चामल राखेर बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार साहले भारतबाट खाली बोरा ल्याएर नेपाली कमसल चामल प्याक गरी उत्कृष्ट गुणस्तरीय चामल भनी बिक्री वितरण गर्दै आएका थिए ।
प्रहरीले उद्योगबाट १ सय ४६ भारतीय बोरामा प्याक गरेको गुणस्तरहीन चामलसहित २ सय ५१ खाली बोरा बरामद गरेको छ । पक्राउ परेका साहलाई कालोबाजारी गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईकान्तिपुर

कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा सम्पन्न

0

 

पर्सा । पर्साको कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा तथा २०८०/८१ को बजेट प्रसतुतीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ सभा बजेट प्रसतुतीकरण कार्यक्रम बाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३२ करोड ७४ लाख ९८ हजार २ सय रुपैयाँको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष राजमती देबी बरैनीको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादवले बजेट प्रसतुतीकरण गरेका थिए । गाउँ सभा कार्यक्रम गाउँपालिका का अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य,सिचाई, पर्यटन र भौतिक पूर्वाधारको लगायत ,उज्यालो कालिकामाई गाउँपालिका बनाउन मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गुप्ताले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको बताए । कालिकामाई गाउँपालिकाको वडा नं १ देखि लिएर वडा नं ५ सम्म का वडा स्तरिय बजेट सेलिंग यस मा सबैको सहमती बाट समेटिएको गाउँपालिका अध्यक्ष गुप्ता ले बताए । गाउँ सभामा ससर्त अनुदान १२ करोड ७२ लाख ५७ हजार, सामनिकरण अनुदान ९ करोड २५ लाख, राजस्व बाडफाड ६ करोड ६४ लाख ५९ हजार २ सय, सम्पुर्क अनुदान ५० लाख समानिकरण अनुदान ६४ लाख ८२ हजार, राजस्व बाडफाड १५ लाख, सम्पुरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, आन्तरिक श्रोत ५० लाख गरि ३२ करोड ७४ लाख ९८ हजार २ सय बराबर को बजेट प्रस्तुतकरण गरिएको छ । गाउँपालिका कार्यालय को सभा हलमा भएकाे गाउँ सभा बजेट प्रस्तुतीकरण प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादव  स्वागत मन्तब्य राखेका थिए । वडाअध्यक्ष लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ, जयनारायण कुर्मी, कार्यपालिका सदस्य हरिअोम साह कार्यपालिका सदस्य ,गाउँपालिका महिला ,पुरुष सदस्य कर्मचारी, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन बिक्रम राउत बरैले संचालन गरेका थिए ।

 

हुण्डी कारोबारीमा जोडिएका एसएसपी पाण्डेमाथि छानबिन गर्न हेडक्वाटरले बनायो समिति

0

 

काठमाडौं– हुण्डी कारोबारीमा जोडिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) महाराजगञ्जमा कार्यरत रहेका एसएसपी पाण्डेमाथि छानबिन गर्न समिति बनाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायत नेपाल लाइभलाई जानकारी दिए।

मंगलबार नेपाल लाइभले ‘हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ शीर्षकको समाचार प्रकाशित गरेको थियो। त्यसपछि प्रहरी हेडक्वाटरले छानबिन गर्न समिति बनाएको हो।

प्रवक्ता कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमै रहेको अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाइएको छ। मैनाली नेतृत्वको छानबिन समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि सोही अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने हेडक्वाटरले जनाएको छ।

कालो धन (अवैधानिक रकम) तथा देशको अर्थतन्त्र आरोलो लाग्नुको मुख्य कारणमध्ये एक मानिएको हुन्डी कारोबारका नाइकेसँग रकम असुल्दै एसएसपी पाण्डेले हुण्डीको लाइन खुलाएको विषयमा मंगलबार हामीले समाचार सम्प्रेषण गरेका थियौँ।

अहिले एकेडेमीमा कार्यरत रहेका एसएसपी पाण्डेले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) हुँदा वीरगञ्जका हुन्डी कारोबारीका नाइके ‘राज होजियारी’ भनिने राज साहसँग साँठगाँठ राखेर रकम असुल्ने गरेको पुष्टि हुने आधारसहितको प्रमाणसहितनेपाल लाइभले रिपोर्ट प्रकाशित गरेको थियो।

पाँचको चेक बुझिसकेको र चालिसको चेक भोलिसम्म डिपोजिट गरिदिने साहले एसपी पाण्डेलाई फोनमा बताएको सुनिन्छ।

अडिओ संवादबाट साहले हुन्डी कारोबारका लागि सहजीकरण गरिदिएबापत एसपी पाण्डेले नै उपलब्ध गराएको ‘दिनेश’ नाम गरेका व्यक्तिको खातामा रकम हालेको प्रष्ट हुन्छ। एसपी पाण्डेले नाम लिएका विक्कीलाई भने रकम दिने सर्तमा सम्भवत ‘लाइन खुला’ गरिदिएको भन्ने बुझिन्छ।

एसपी पाण्डे र साहबीच तेस्रोपटक ‘पाँचको चेक’ डिपोजिट भएको विषयमा कुराकानी हुन्छ। साहले ‘पाँचको चेक’ क्लियर भइसकेको जानकारी गराउँछन्। उनले बाँकी ‘चालिसको’ भोलि हुने भनेर पाण्डेलाई जानकारी दिन्छन्। ‘विक्की’ले भने त्यतिबेलासम्म पाण्डेलाई रकम नहालेको कुरा अडिओमा सुनिन्छ।

वीरगञ्जमा होजियारीसम्बन्धी उद्योग सञ्चालन गर्दै आएका साहको भित्री धन्दा भने हुन्डीको रहेको त्यहाँ काम गरेका केही जुनियर प्रहरी अधिकारी पनि बताउँछन्। उच्च र नेतृत्व तहका प्रहरी अधिकारीसँग ‘मिलाएर’ उनी प्रहरी अनुसन्धान र कारबाहीबाट बच्दै आएका छन्। साभार : नेपाल लाईभ

टिकापुरमा केराको पनामा रोगको नयाँ प्रजाति टिआर ४ को व्यवस्थापनबारे छलफल

0

 

काठमाडौं । पनामा रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र कैलाली र बर्दिया, सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय, रानीजमरा कुलेरिया सिचाइँ आयोजना, कृषि अनुसन्धान निर्देशनालय दिपायल, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, इलाका प्रशासन कार्यालय, जोशीपुर र जानकी गाउँपालिका, टिकापुर र लम्कीचुहा नगरपालिकाका प्रतिनिधि, पत्रकार, कैलालीका केरा खेती गर्ने कृषकहरू लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा केराको पनामा रोगको नयाँ प्रजाति टि आर ४ को सुरक्षित व्यवस्थापनबारे अन्तरकृया सम्पन्न भएको हो ।

कार्यक्रममा प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र का प्रमुख प्रकाश पौडेलले कार्यक्रम आयोजना गर्नुको उद्देश्य र यो रोग व्यवस्थापनका कानूनी र क्वारेन्टिनका पक्षबारे जानकारी दिए ।

यसैगरि राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले यो रोगको उत्पत्ति, प्रसार र व्यवस्थापनबारे बिस्तृत जानकारी दिए ।

पनामाको टि आर ४ को जोखिम विश्लेषण कार्यदलका सदस्य देवराज अधिकारीले कार्यदलको कार्ययोजना र प्रस्तावित आचारसंहिता प्रस्तुत गरेका थिए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यस्ता महामारीबाट बालीनालीलाई जोगाउन नियमनको तहमा प्रदेश सरकार र कार्यान्वयनको तहमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहनेहुनाले कृषकहरूले सबै निकायसँग समन्वयमा रही रोग व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले यो रोग व्यवस्थापन गर्न आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक परे यो रोग देखिएका क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने, कृषकहरूलाई बिमामार्फत् या स्थानीय सरकार मार्फत् क्षतिपूर्ति या अन्य उपाय को अवलम्बन गर्न सकिने बताए ।

टिकापुर, जानकी, जोशीपुर र लम्कीचुहाका स्थानीय सरकारका प्रतिनिधिहरूले सबैपक्षसँग सहकार्य गरी रोग व्यवस्थापन गर्न तत्पर रहने बताए ।

कार्यक्रमकै सिलसिलामा किसानलाई तत्काल दिन सकिने सल्लाह र थप सर्भे गर्नेबारे कृषिसँग सम्बन्धित संस्थाहरूबीच छुट्टै प्राविधिक छलफल हुनुको साथै कार्यदलले केराका बगैँचाहरूको स्थलगत अवलोकन समेत गरेको थियो । रानीजमरा सिचाइ आयोजना कैलालीका प्रमुख कलशराम चौधरीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन दिलिपजंग रानाले गरेका थिए । सरकारले यसअघि नै यो रोगको जोखिम विश्लेषण र सर्वेक्षण गर्न नार्कका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिसकेको छ ।

हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’

0

 

काठमाडौं– कानुन कार्यान्वयन र अपराध नियन्त्रणको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीका एक उच्च अधिकारी नै आपराधिक गिरोहहरुसँग मिलेर असुली धन्दामा लागेको खुलेको छ।

कालो धन (अवैधानिक रकम) तथा देशको अर्थतन्त्र ओरालो लाग्नुको मुख्य कारणमध्ये एक मानिएको हुन्डी कारोबारका नाइकेसँग प्रहरी अधिकारीले नै रकम असुल्दै हुन्डीका लागि लाइन खुला गरेको तथ्य नेपाल लाइभले प्राप्त गरेको छ। हुन्डी कारोबारीसँग साँठगाँठ राख्दै नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेले रकम असुल्ने गरेको तथ्य लामो समयको खोजपछि नेपाल लाइभले प्राप्त गरेको हो।

अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) मा कार्यरत रहेका एसएसपी पाण्डेले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) हुँदा वीरगञ्जका हुन्डी कारोबारीका नाइके ‘राज होजियारी’ भनिने राज साहसँग साँठगाँठ राखेर रकम असुल्ने गरेको प्रमाण प्राप्त भएको छ।

हुन्डी कारोबार खुला गरिदिएबापत साहले पाण्डेलाई रकम उपलब्ध गराउने गरेको नेपाल लाइभले प्राप्त गरेको प्रमाण (अडिओ) बाट प्रष्ट बुझिन्छ। त्यतिमात्रै होइन पर्साबाट सरुवा भएपछि पनि साहसँग सम्बन्ध राख्दै सहजीकरण गरिदिए बापत उनले रकम बुझ्ने गरेको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
२०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरेका पाण्डेले त्यसको ५ वर्षपछि २०५६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा नाम निकालेका थिए। त्यसपछि विभिन्न ठाउँमा रहेर काम गरेका उनी एसपी हुँदा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए।

२०७७ पुस २१ गते प्रहरी प्रधान कार्यालयले सीआईबीमा कार्यरत रहेका पाण्डेलाई पर्साको प्रहरी प्रमुखको रुपमा सरुवा गरेको थियो। त्यतिबेला पर्सामा कार्यरत एसपी गंगा पन्तलाई सीआईबीमा सरुवा गरेर सीआईबीमा रहेका पाण्डेलाई पर्सा पठाइएको थियो।

सीआईबीबाट पर्सा गएका उनै पाण्डेले वीरगञ्जमा ‘हुन्डीका मुख्य कलेक्टर’ भनेर चिनिने साहसँग निकट रहेर हुन्डीको लाइन खुला गर्दै रकम असुल्ने गरेको पाइएको हो।

हुन्डी कारोबारी साहले तत्कालीन पर्साका एसपी पाण्डेलाई फोन गर्छन्।

टेलिफोन कुराकानी–१
फोन रिसिभ गर्दै तत्कालीन पर्साका एसपी पाण्डेले भन्छन्– हजुर, हजुर।
हुन्डी कारोबारी साह – दाइ गूड मर्निङ।
एसपी पाण्डे– गूड मर्निङ भाइ।
हुन्डी कारोबारी साह – दाइ त्यो ११ वाला हिजो शुक्रबार हाल्दिए। तपाईं ११, १२ बजे निकाल्न सक्नुहुन्छ।
एसपी पाण्डे – ए हुन्छ। अनि त्यो… त्यो मोराको त जसरी गर्दिनु परो भाइले।
हुन्डी कारोबारी साह– हाँस्दै.., ए त्यो विक्कीको?
एसपी पाण्डे – अँ।
हुन्डी कारोबारी साह– भन्दा भन्दै… आज फेरि म उ गर्छु दाइ। जान त कतै जाँदैन त्यो।
एसपी पाण्डे – भाइले हुन्न भनेको भए त म उपाय लाउँथे त नि।
हुन्डी कारोबारी साह– ए त्यो केही हुँदैन दाइ त्यो… नदिने त कुरै आउँदैन। त्यो मुलालाई त म गरिहाल्छु। ल तर आज…
एसपी पाण्डे – ल भाइ ल।
हुन्डी कारोबारी साह– हुन्छ दाइ ल त्यो उसलाई भन्दिनु जसको खातामा गएछ नै जसलाई।
एसपी पाण्डे – हजुर?
हुन्डी कारोबारी साह– जसको खातामा मैले यो हजुरले दिनु भएथियो नि उहाँलाई भन्दिनु होला ११ बजे गएर झिक्नसक्नु हुन्छ भनेर।
एसपी पाण्डे – दिनेशकोमा गर्नुभाछ?
हुन्डी कारोबारी साह– हजुर दिनेशकोमा।
एसपी पाण्डे – ल, ल । हस, हस। त्यो विक्कीको गर्दिनु पर्‍यो।
हुन्डी कारोबारी साह– ल, ल दाइ ल । हस, हस।

यो अडिओ संवादबाट साहले हुन्डी कारोबारका लागि सहजिकरण गरिदिएबापत एसपी पाण्डेले नै उपलब्ध गराएको ‘दिनेश’ नाम गरेका व्यक्तिको खातामा रकम हालेको प्रष्ट हुन्छ। एसपी पाण्डेले नाम लिएका विक्कीलाई भने रकम दिने सर्तमा सम्भवत ‘लाइन खुला’ गरिदिएको भन्ने बुझिन्छ।
रकम हाल्ने बताए पनि नहालेको विषयमा पुनः अर्को पटक एसपी पाण्डेले साहलाई फोन गर्दै विक्कीको बारेमा बुझेको अडिओमा सुनिन्छ।

टेलिफोन कुराकानी–२
एसपी पाण्डेले – हजुर, हजुर।
हुन्डी कारोबारी साह– दाइ नमस्ते।
एसपी पाण्डे– नमस्कार।
हुन्डी कारोबारी साह– हजुर दाइ।
एसपी पाण्डे– अँ हिजो कुरो भाछ नि त्यसले?
हुन्डी कारोबारी साह– अँ, अँ । आज भन्छ दिन्छु १२ बजेतिर दिन्छु भनेछ त्यो मुलाले।
एसपी पाण्डे – ए…।
हुन्डी कारोबारी साह– हिजै भनेथ्यो बुझाइदिन्छु बुझाएन। अहिले फेरि म कुरा गर्दैछु।
एसपी पाण्डे– ए । म त आज व्यस्त, व्यस्त हुन्छु होला। पछि फोन गर्छु म त।
हुन्डी कारोबारी साह– हस हस दाइ।
एसपी पाण्डे– है भाइ।
हुन्डी कारोबारी साह– हुन्छ दाइ।
एसपी पाण्डे – ल, भाइको जिम्मा भयो, है त।
हुन्डी कारोबारी साह– ल।

एसपी पाण्डे र साहबीच तेस्रोपटक ‘पाँचको चेक’ डिपोजिट भएको विषयमा कुराकानी हुन्छ। साहले ‘पाँचको चेक’ क्लियर भइसकेको जानकारी गराउँछन्। उनले बाँकी ‘चालिसको’ भोलि हुने भनेर पाण्डेलाई जानकारी दिन्छन्। ‘विक्की’ले भने त्यतिबेलासम्म पाण्डेलाई रकम नहालेको कुरा अडिओमा सुनिन्छ।

टेलिफोन कुराकानी–३
हुन्डी कारोबारी साह– दाइ नमस्ते।
एसपी पाण्डे– नमस्कार भाइ।
हुन्डी कारोबारी साह – दाइ त्यो पाँच वाला भन्नु भए थ्यो नि चेक रिटर्न आयो भनेर…।
एसपी पाण्डे – भयो, भयो। अँ अब क्लियर भयो।
हुन्डी कारोबारी साह – ए त्यही भएर म चेक लिन गएथेँ बैंकमा। हैन क्लियर भइसक्यो भनेर कन्फर्मको लागि।

एसपी पाण्डे– यो भयो। अनि त्यो मोरा विक्कीको गालामा एक थप्पड गरेर गर्नुपरो।
हुन्डी कारोबारी साह – ए त्यो, आज पनि त्यसलाई मैले फोन गरेको थिएँ । ए भैया, दुई–तीन दिनमे बोल रहा था। कि हमरे देओ वो देहुँ नहिँ देहुँ उसको हम नहिँ जानते। हम आपको उसी दिन बोलेथे कि एक घण्टा बिठा ते रहिए। विश्वास पर हम लोग छोड दिए। तो नही भैया, उ नही देगा तो हम दे दिंगे ना काही टेन्सन ले ते हे।
एसपी पाण्डे – नाइ यसको त्यही भन्दिनु पर्‍यो, तेस्लाई। भाइसँग के लिन्थे म।
हुन्डी कारोबारी साह– ए…। अरु के छ दाइ हालखबर सब ठिक छ नि?
एसपी पाण्डे– ठिकै छ, ठिकै छ।
हुन्डी कारोबारी साह– अनि त्यो आज होइन भोलि डिपोजिट हुन्छ, त्यो ४० वाला।
एसपी पाण्डे– ल, ल हस्, हस्। हुन्छ ल।

वीरगञ्जमा होजियारीसम्बन्धी उद्योग सञ्चालन गर्दै आएका साहको भित्री धन्दा भने हुन्डीको रहेको त्यहाँ काम गरेका केही जुनियर प्रहरी अधिकारी पनि बताउँछन्। उच्च र नेतृत्व तहका प्रहरी अधिकारीसँग ‘मिलाएर’ उनी प्रहरी अनुसन्धान र कारबाहीबाट बच्दै आएका छन्।

त्यसो त उनले आवरणमा ‘सामाजिक सेवा’को काम पनि गर्दै आएका छन्। उनले गर्ने समाज सेवामा पनि पर्साका प्रहरी प्रमुख र अधिकृतहरुको ‘संलग्नता’ रहने गरेको देखिन्छ।

‘अपांगता भएकालाई ह्विलचियर’ भन्दै साहले २०७९ मंसिर २९ गते जगरनाथपुर गाउँपालिका–२ जानकी टोलकी १० वर्षीया छोरी रुक्सार खातुनलाई ह्विल चियर वितरण गरेका थिए।

कतिसम्म भने प्रहरीले देशव्यापी रुपमा सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा पनि साहको सहभागिता रहने गरेको छ। २०७७ कात्तिक २३ गते बारामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराको सहकार्य भन्दै साहले बाराका तत्कालीन डीएसपी गौतम मिश्रको प्रमुख उपस्थितिमा महागढीमाई नगरपालिका–२ मा २० जना दलितहरुलाई साडी समेत बाँडेका थिए।

उनले ‘राज युनिफर्म सप्लायर्स’ नामक कपडा पसल समेत सञ्चालन गर्दै आएका छन्। त्यहाँ सामुदायिक तथा संस्थागत विद्यालयका कपडा, जुत्ता तथा विद्यालयको पोसाकसहित टाईलगायतका समानहरु पाइन्छ।

यसरी विभिन्न व्यवसाय र समाज सेवाको आवरणमा होजियारीले हुन्डी कारोबार गर्ने गरेको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।

भारतसँग सीमा जोडिएका पूर्वी तथा मध्य तराईका जिल्लामा हुने सबै हुन्डी कारोबारमा उनी प्रत्यक्ष/अप्रत्यक्ष जोडिएका छन्। तर प्रहरी अधिकारीसँगको निकट सम्बन्धकै कारण उनी अहिलेसम्म कानुनी दायराबाट भने जोगिँदै आएका छन्। साभार:नेपाल लाइभ