Home Blog Page 46

नवदिप एकेडमीको कारण अभिभावकहरु आतंकित

0

वीरगंज ३१ साउन ।
वीरगंज महानगरपालिका वडा नं. १५ स्थित नवदिप एकेडेमीको कारण अभिभावकहरु आतंकित बन्न पुगेका छन् ।
चालु महिनाको बिल सोही महिनाको दोस्रो हप्तामै पठाई पैसा तिर्नलाई स्कूलले अभिभावकहरुको मोबाईलमा फोन गरी बारम्बार तनाव दिने काम गरेको अभिभावकहरुको गुनासो रहेको छ । बारा जिल्ला नौतन बस्ने सदाम हुसैनका दुई जना छोराहरु नवदिप एकेडमीमा पढछन् । उनलाई सावन महिनाको १४ गते “UP to shrawan” को १४ हजार ९ सयको बिल विद्यार्थी मार्फत अभिभावकलाई पठाएका थिए । सो बिल हेरेर अभिभावक सदामले स्कूलमा पुगी प्रिन्सिपल सुशिला साह सँग बुझ्दा पुरानो र सावन महिनाको बिल अहिले नै तिर्नु पर्छ भनि दबाव दिएकी थिईन् । बिलको पैसा नबुझाए आफ्नो बच्चालाई यो स्कूलबाट अन्यत्र लग्नुस भनेपछि बाध्य भएर अभिभावक सदामले सोही दिन ८ हजार रुपैया बुझाए ।
सदाम एक उदाहरण पात्र मात्र हुन, उनी जस्ता थुप्रै अभिभावकहरुलाई यसरी नै तनाव दिने गरेको गुनासो बढदै गएको छ । यतिमात्र कहाँ हो र, अभिभावकहरुले कुनै कारणवस समयमा स्कूलको पैसा तिर्न नसक्दा विद्यार्थीहरुलाई बेन्चमा खडा गर्ने, स्कूलको गेटमा घण्टौ खडा गर्ने जस्ता असमाजिक क्रियाकलाप पनि गर्दै आएको अभिभावक सदामले यस अनलाईन सँग गुनासो गरे ।
सो विषयलाई लिएर स्कूलका प्रिन्सिपल साह सँग गुनासो गर्दा साहले उल्टै अभिभावकलाई नै अपशब्द प्रयोग गर्ने, वादविवाद गर्ने, धम्काउने जस्ता गतिविधि गर्दै आएको बताईन्छ ।
स्कूलले स्कूल ड्रेस, किताब तोकेकै पसलबाटै किन्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरेको छ । ८०–१०० रुपैया पर्ने विद्यार्थी परिचयपत्रको रु. २०० तिर्न लगाई अभिभावकहरुको डाढ सेक्ने काम गरिरहेको छ ।
सो विषयमा स्कूलका प्रिन्सिपल साह सँग फोन सम्पर्क गरी बुझ्दा उनले पुरानो पैसा र साउन महिनाको पैसा जोडेर स्टिीमेट बिल पठाएको बताईन् । अभिभावकलाई साउन महिनाको पैसा तिर्न दबाव नदिएको प्रतिक्रिया दिईन् । तर बिल हेर्दा पुरानो बाकी पैसा कहि कतै उल्लेखन नभएको देखिन्छ । यस सन्दर्भमा वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्ण सँग फोन गरी प्रतिक्रिया लिन खोज्दा उनको मोबाईल फोन स्विच अफ रहेको पाईयो ।
अभिभावक संघ वीरगंज, पर्साका अध्यक्ष संदिप साह सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले अन्य स्कूलहरुले पनि यस्तै गलत काम गरिरहेको बताउदै महिना सकिसके पछि मात्र बिल पठाउनु पर्ने, विद्यार्थीहरुलाई कुनै किसिमको तनाव दिन नहुने बताए । सो विषयलाई लिएर हामीहरुले बारम्बाबर सम्बन्धित निकायमा पुगी ज्ञापनपत्र बुझाई बिरोध गर्दा समेत नियमनकारी निकायले खासै वास्ता नगरेको गुनासो गरे । यस्ता गतिविधि गर्ने स्कूलहरुलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरे ।

ठाकुरराममा उत्तरपुस्तिका साट्ने धन्दा चलाएका यादवसहित दुई जना रंगेहात पक्राउ

0

 

 

वीरगन्ज,३१ साउन :वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षमा उत्तरपुस्तिका नै हेरेफेर गरेर उत्तीर्ण गराउने गिरोहका दुई जना बुधबार रङ्गे हात पक्राउ परेका छन् ।

बुधबार एक विद्यार्थीलाई उत्तीर्ण गराउनका लागि परीक्षामा उत्तरपुस्तिका (कापी) साटेको आरोपमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा शाखाका पुर्व प्रमुखसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले क्याम्पसको परीक्षा शाखाका पुर्व प्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका प्रमुख विनोद स्वर्णकारलाई उत्तरपुस्तिका साट्दै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरेको हो ।

ठाकुरराम क्याम्पसमा वर्षौदेखि परिक्षा शाखा प्रमुखका रुपमा कार्यरत यादव , एक महिनापहिले मात्र अवकाश लिएका थिए । हाल उनि वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पसको परिक्षा शाखा प्रमुखमा कार्यरत छन् ।

ठाकुरराम क्याम्पसको बिबिएस दोश्रो वर्षको परीक्षा केन्द्र वीरगन्जकै त्रिजुद्ध माविमा तोकिएको छ । बुधबार बिहान परीक्षा सकिने बेलामा यादवले एक विद्यार्थीले दिदै गरेको परीक्षाको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट लेखेर ल्याइएको अर्को उत्तरपुस्तिका राख्न भन्दै परिक्षा केन्द्र प्रमुख स्वर्णकारलाई दिदै गरेको भेटिएपछि यादव र स्वर्णकार दुवै जनालाई रङ्गेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले बताए ।

शिवाकोटीका अनुसार ,त्रिजुद्ध माविको परीक्षा केन्द्रमा ठाकुरराम क्याम्पसको परीक्षा चलिरहेको र त्यहा बाहिरबाट लेखेर ल्याइएका उत्तरपुस्तिका पुस्तिका साट्ने चलखेल भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा बुधबार बिहान प्रहरी निरीक्षक शिवाकोटी नेतृत्वको प्रहरी टोलीले खटिएको थियो ।

क्याम्पसमा कार्यरत परीक्षा शाखाका बहालवाला कर्मचारी,पूर्व कर्मचारी, प्राध्यापक र केहि विद्यार्थी संगठनका नेताहरुको मिलोमतोमा विद्यार्थीसंग रकम लेनदेन गरी परिक्षामा उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गराउने धन्दा वर्षौदेखि चल्दै आएको छ ।
क्याम्पसमै कार्यरत एक कर्मचारीले भने,‘ यो धन्दा वर्षौदेखि चल्दै आएको छ । एउटा विषयको परिक्षामा पास गराउन विद्यार्थीसंग ३० देखि ३५ हजार रुपैयाँ असुली गरिन्छ ।

परिक्षामा वास्तविक परीक्षार्थीको सट्टा नक्कली परीक्षार्थीलाई बसाएर लेख्न पनि लगाइन्छ ।अनि कापी साट्नेपनि गरिन्छ । यदि खोज्दै जाने हो भने यो धन्दामा क्याम्पसका एकसे एक व्याक्तिहरुको चरीत्र पर्दाफास हुन्छ ।यहि धन्दा बन्द हुने भयो भनेर नै दुई महिना पहिले ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्य जिल्लामा तोकिएपछि विद्यार्थी संगठनहरुले आन्दोलनपनि गरेको ती कर्मचारीले बताए ।

बुधबार परिक्षा केन्द्रबाट पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

दुवै जना विरुद्ध शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्धा दर्ता गरि कारबाही प्रकृया अगाडि बढाइने जानकारीपनि उनले दिए । शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्नपत्रको गोपनियता भंग गरेमा वा अरुको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसूरको मात्रा हेरेर १ लाख रुपैयाँ जरीबाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।साभार : मधेस खबर

 

पर्सा जिल्लाको सीमा नाकाबाट खुल्यो तस्करीको लाइन, सशस्त्र प्रहरी प्रमुख मुकदर्शक

0

बीरगंज ३० साउन। सीमा नाकाबाट बढ्दै गएको तस्करीको लाइन न्यूनीकरण गर्न जिम्मा पाएका सशस्त्र प्रहरी, आर्थिक प्रलोभनमा पर्न थालेपछि चोरी तस्करी न्यूनीकरण हुनुको साट्टो बढ्दै गएको आकलन गर्न थालिएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बिरगंजको शहरी क्षेत्र अर्थात बिरगंज भन्सार क्षेत्रमा निगरानी बढाएपनि जिल्लाको ग्रामिण क्षेत्रहरूबाट खुल्याम अबैध रकम असुल गरी चोरी तस्करीको लाइन चलाउने गरेको पाइएको हो ।

पर्सा जिल्लाको श्रीसिया, अमरपट्टी, धोरे, भिस्वा, आसवारीको नाकाहरूबाट अबैध रकम असुल गरी तस्करी धन्दालाइ बढावा दिएको आरोप लाग्न थालिएको छ । चोरी तस्करी न्यूनीकरणको सट्टा चोरी तस्करीलाइ बढावा दिनमा सशस्त्र प्रहरीकै हात हुने गरेको एक घटनाले उजागर पारेको छ । बिगत केहि दिन अगाडी ३ वटा पिकअपमा लोड रहेको केराउ र ३ पिकअपमा लोड रहेको मिठा बारे सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियालाइ सुचना आएपनि नियन्त्रणमा लिनुको साटो उल्टै स्थानीय प्रहरीलाइ सुचना दिएर भगाएको आरोप स्थानीय श्रोतले दाबि गरेका छन ।

पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट हुने गरेको चोरी तस्करी बारे पटक पटक सशस्त्र प्रहरी उपरीक्षक थपलियालाइ सुचना दिएपनि नियन्त्रणमा लिनुको साटो उल्टै चोरी तस्करी गर्ने गिरोहलाइ सचेत गराउने गरेको, उनले दाबि गरे । चोरी तस्करी नियन्त्रण गर्नु मात्र प्रहरीको जिम्मेवारी नभएर एउटा सचेत नागरिकको हैसियतले हामि सबैको जिम्मेवारी भएपनि प्रहरी नै आर्थिक प्रलोभनमा परे पश्चात चोरी तस्करीको फस्टाउनु पनि स्वाभाविक हो, उनले थपे ।

भिस्वा नाकाबाट चोरी तस्करी नियन्त्रणको साट्टो फस्टाउदै जानुमा प्रमुख दोषी सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया रहेका छन भने चोरी तस्करीको रकम उठाउनमा प्रमुख दायित्व निर्वाह गर्दै आएका स्थानीय बोर्डर आउट पोस्ट रहेको बताइन्छ । भिस्वा नाकाबाट गर्ने गरेको चोरी तस्करी समुहले स्थानीय बोर्डर आउट पोस्ट लहावरथलरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक केशव ओलियाको माध्यमले सशस्त्र प्रहरी उपरीक्षक थपलियाले रकम बुझने गरेको सशस्त्र प्रहरीकै कर्मचारीहरू बताउछन ।

पर्सा जिल्लाको ग्रामिण भेगबाट सशस्त्र प्रहरी नायब उपरीक्षक केशव ओलियाकै माध्यमले रकम उठने गरेको र सो रकमबाट भागबन्डा हुने गरेको श्रोतको दाबि रहेको छ । उनका अनुसार भागबन्डा ६०-४० हुने गरेको समेत दाबि गरे । बिगत केहि दिन अगाडी श्रीसिया नाका हुदै नेपाल भित्रिएको कपडा मकवानपुर जिल्लामा पक्राउ हुदा पर्सा जिल्लाबाट चोरी तस्करी नरोकिएको बारे प्रमानित भएको छ । यस सन्दर्भमा सम्बन्धित निकायको ध्यान जाने हो कि हेर्न बाकि नै रहेको छ ।साभार:साँझनेटवर्क डट कम

अदालतको निर्णयलाई सम्मान गर्दै काङ्ग्रेसको क्षेत्रीय सभापतिले गरे  महानगरलाई करोडौंको जग्गा फिर्ता

0

वीरगन्ज : नेपाली कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित करोडौं मूल्य पर्ने जग्गा महानगरपालिकालाई फिर्ता गरेका छन्।

पर्सा क्षेत्र नम्बर २ का कांग्रेस क्षेत्रीय सभापति शाहबुद्धिनले अदालतको फैसला आएको साढे तीन महिनापछि करिब ७ करोड रुपैयाँ मूल्य पर्ने १ कठ्ठा जग्गा महानगरपालिकालाई फिर्ता गरेका हुन्।

आइतबार पत्रकार सम्मेलन गरेर शाहबुद्धिनले अदालतको फैसलाको सम्मान गर्दै आफ्नी पत्नी नजमा बेगमका नाममा लालपूर्जा रहेको कित्ता नम्बर ८१७ को १ कठ्ठा जग्गा महानगरपालिकालाई फिर्ता गरेको बताए।

उनले आफूले २०७४ पुष ११ गते वीरगन्ज ६ कुम्हालटोल निवासी अरुण कुमार अग्रवालसँग ४ करोड रुपैयाँमा उक्त जग्गा मालपोत कार्यालयबाट आफ्नी पत्नि नजमाको नाममा रजिष्ट्रेसन पास गराएर खरिद गरेकोमा अदालतले उक्त जग्गा महानगरपालिकाको स्वामित्वमा आउने फैसला गरेपछि फिर्ता गरिदिएको बताए।

पत्रकार सम्मेलनमा शाहबुद्धिनले भने,‘मैले जग्गा किन्ने बेलामा लालपूर्जा अरुण अग्रवालका नाममा थियो, वडाबाट चौहदी प्रमाणित गरिएको सिफरिस पनि थियो, मालपोत, नापी र वीरगन्ज महानगरपालिकामा राजस्व तिरेको रसिद पनि थियो। सबै प्रमाणका आधारमा नै मैले त्योबेला जग्गा किनेको थिए।

तर अदालतले फैसला गरेर जग्गा महानगरपालिकाको स्वामित्वमा आउने फैसला गरिदिएपछि महानगरलाई फिर्ता गरेको उनले बताए।  पशुपति आदर्शनगर निर्माण समितिबाट महानगरको स्वामित्वमा आएको कित्ता नम्बर ८१७ को १ कठ्ठा जग्गा वीरगन्ज ३ निवासी नजमाले किर्ते कागजात खडा गरी मालपोत र महानगरपालिकाका यसअघिका जनप्रतिनिधिदेखि कर्मचारी समेतको मिलोमतोमा आफ्नो नाममा पुर्‍याएको भन्दै वीरगन्ज महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुसालले २०७५ असार ३ मा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७८ वैशाख १२ मा उक्त जग्गा महानगरकै स्वामित्वमा रहने फैसला गरेको थियो। त्यसपछि नजमाले पर्सा जिल्ला अदालतको फैसलालाई बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा मुद्दा दिएकी थिइन्।

तर २०८० वैशाख १३ मा उच्च अदालतका न्यायधिशद्वय सुदर्शनदेव भट्ट र सिताराम मण्डलको संयुक्त इजलासले पनि जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरको थियो। साभार: अन्नपूर्णपोस्ट

आईटी आर्मीद्धारा सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न पुरातत्व विभागलाई ज्ञापन

0

बारा २६ साउन/ बाराको पुरातात्विक,सांस्कृतिक तथा धार्मिक र ऐतिहासिक महत्व बाेकेको सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग गरिएको छ ।

आम आदमी पार्टी निकट आईटी आर्मीका बारा जिल्ला इन्चार्ज सनि गुप्ताको नेतृत्वमा काठमाडौं पुगेका सिम्रौनगढका युवाहरुले पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई भेटेर सिम्राैनगढलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएकाे छ , “हजारौं वर्ष अगाडि सिम्रौनगढ एउटा शशक्त शासन प्रशासनको केन्द्र (राजधानी) समेत रहेको विषय ईतिहासका पानाहरुमा उल्लेख छ । यस क्षेत्रमा पाउने अनगिन्ती पुरातात्विक संरचना र तीनका भग्नावशेषहरु तथा धर्तीको गर्भभित्र समाहित रहस्यहरु यस अमूल्य सम्पदाका जीवित प्रमाणहरू हुन् ।”

यहि साउन २० गतेमात्रै सिम्राैनगढमा बाटोखन्दा डढेको चामलको भण्डार भेटिएको थियो । त्यसअघि पनि सिम्राैगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको थियाे।

ज्ञापनपत्र बुझाउने टाेलीमा आइटी आर्मीका राष्ट्रिय अध्यक्ष चन्द्रभुषण साह ,नविन साह,रन्जन कुशवाहा,राेशन कुशवाहा,चुनु साह,निकेश दास ,विनायक राज पाण्डे,राजेश मल्ल,मन्जित मल्ल,अरविन्द कुशवाहा,रितेश कुशवाहा,बिक्रान्त कुशवाहा लगायतका यसवाहरुको सहभागीता रहेको थियो । मधेस खबर

परवानीपुर गाउँपालिकाले व्यवसाय करमा विशेष छुट दिने

0

 

वीरगञ्ज २५ साउन/बाराको परवानीपुर गाउँपालिकाले उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गरेका छन ।

एउटा सूचना जारी गर्दै गाउँपालिका कार्यालयले परवानीपुर क्षेत्रमा सञ्चालित उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्दै वार्षिक व्यवसाय कर चुक्ता गर्न आग्रह गरेका थिए ।

‘यस परवानीपुर गाउँपालिका क्षेत्रभित्र रहेका उद्योग, व्यवसाय तथा कलकारखाना सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले गाउँपालिकामा अनिवार्य व्यवसाय दर्ता गरी व्यवसाय इजाजत प्रमाण पत्र लिनु पर्ने र वार्षिक रूपमा व्यवसाय कर तिर्नु सबैको दायित्व हुन आउँछ गाउँपालिकाद्वारा जारी सूचनामा लेखिएको छ ।

कार्यालयमा व्यवसाय दर्ता गराएका व्यवसायीहरूले चालू आर्थिक वर्ष भरीको व्यवसाय कर एकमुष्ट रूपमा बुझाए लाग्ने शुल्कमा ४० प्रतिशत छुट समेत दिने गाउँपालिकाले जनाएको छ । ‘आर्थिक वर्ष लागि आर्थिक ऐन २०८०/०८१ को दफा १९ बमोजिम चालु आर्थिक वर्ष २०८०/०८१ को व्यवसाय कर अग्रिम रूपमा आश्विन मसान्तसम्म एकमुष्ट बुझाएमा व्यवसायीलाई व्यवसाय करमा लाग्ने शुल्कमा ४० प्रतिशत छुटको व्यवस्था रहेकोले तोकिएको समय भित्र व्यवसाय कर बुझाई यो अवसरको फाइदा लिन हुनको लागि सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

त्यस्तै स्थानीय युवाहरूलाई रोजगारीमा प्राथमिकता दिने उद्योग, व्यवसाय तथा कलकारखानालाई गाउँपालिकाले करमा थप सहुलियत पनि दिने जनाएको छ ।

दश जनाभन्दा धेरै रोजगारी सृजना गर्ने उद्योग, व्यवसाय तथा कलकारखानाले त्यसको ५० प्रतिशत गाउँपालिका क्षेत्रका स्थानीय बासिन्दालाई रोजगारी दिएको प्रमाण पेस गरेमा व्यवसाय करमा थप १५ प्रतिशत छुट दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले जानकारी दिए।

 

नार्कद्वारा गोलभेंडाको नयाँ रोग ‘टार्गेट स्पट’ मा अनुसन्धान सुरु

0

 

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बैज्ञानिकहरुले नेपालमा गोलभेडामा लाग्ने रोग ‘टार्गेट स्पट’ पहिलो पटक भेटिएको जनाएका छन् ।

गतबर्ष काभ्रेको पनौतिमा देखिएको यो रोग अल्टरनेरिया डढुवा, सेप्टोरिया थोप्ले रोग र व्याक्टेरियल स्पट सँग मिल्दोजुल्दो देखिए पनि सङ्का लागेर नार्कको प्रयोगशालामा जाँच गर्दा यो नयाँ रोग पता लागेको हो ।

हाल यो रोग नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि देखिएको छ । नार्क अन्तरगतको राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खडकाले किसानबाट गोलभेडामा रोग लागेको गुनासो आएपछि अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए ।

‘सुरुमा किसानहरुले व्याक्टेरिया भनेर बिषादी हालेको तर रोग नियन्त्रणमा नआएपछि सो रोगको बारेमा हामीले अनुसन्धान सुरु गर्यौ’ बैज्ञानिक खडकाले भने, ‘हामीले सर्वप्रथम नयाँ रोग भन्ने कुरा एकिन गर्यौं । त्यसपछि डिएनए परीक्षण गरेर पिसिआर गर्यौं । त्यसपछि हङकङमा सिक्वेन्सिङ गरेर थप प्रमाणित गर्ने काम गर्यांै ।’

हामीले अनुसन्धान गर्दा टार्गेट स्पोट रोग पता लागेको र त्यसका लागि म्यान्कोजेब र कपर अक्सिक्लोराइड ढुसीनासक बिषादी त्यसमा प्रयोग गर्न सिफारिस गरेको उनले बताए । यसमा थप अनुसन्धान जारी नै रहेको उनले बताए ।

यो रोगबाट बचाउन बिरुवा देखि बिरुवा सम्मको दुरी प्रशस्त राख्ने, नियमित झारपात हटाउने, बिरुवाको काँटछाँट गरी सरसफाइ गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग कम गर्ने र फोहोरा सिँचाइ नगर्ने गर्दा रोगको प्रकोप घटाउन सकिने डा. खडकाले जनाएका छन् ।

राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका प्रमुख सुरज बैद्यले यस्तै रोग गोलभेडामा पहिले पनि छिटपुट देखिने गरेको तर अरु रोगसँग मिल्दाजुल्दा लक्षणका कारण किटान गर्न नसकिएको बताए । हाल आएर किसानले गुनासो गरेपछि गहिरो अनुसन्धान गर्दा नयाँ रोग फेला परेको बैद्यले बताए ।

उक्त केन्द्रका अनुसार यो रोग आद्र्र मौसममा बढी देखिन्छ । यो रोग लागेमा पातमा स–साना खैरा थोप्ला देखिन्छन् र बढदै जान्छन् । यस्ता थोप्लाहरु पातको मुख्य नसा वरिपरि बढी देखिन्छन् । यो रोगको लक्षण प्रायः तलका, पुराना र भित्र पट्टिका पातहरूबाट सुरु हुन्छ र बिस्तारै रोगले डाँठ र फलमा पनि सङ्क्रमण गर्ने गर्छ । सङ्क्रमण बढी भएको अवस्थामा पात र डाँठ जोड्ने भागमा खैरो घेरा बनी बिरुवा बाट पात सजिलै छुट्टिन्छ । रोगको संक्रमण अत्याधिक भएमा पात र डाठ पुरै मर्ने हुँदा समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ ।

यस रोगको कारक ढुसी खेतमा गोलभेँडा नभएको बेला झारहरू र गोलभेँडाका अवशेषहरूमा बाँच्ने गर्दछ । मौसम आद्र्र, तापक्रम बढेको बेला र पातहरू लामो समय सम्म भिजिरहने अवस्थामा ढुसीले सङ्क्रमण गर्न सुरु गर्दछ । खास गरी पानीको थोपाहरू र हावाले ढुसीका बीजाणुहरूलाई स्वस्थ बिरुवासम्म लैजाने गर्दछन् ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा हालसालै केही नयाँ रोग र किराहरु फेला पर्ने क्रम जारी रहेको र यसबाट सरोकारवालाहरु सजग रहनुपर्ने आवश्यक रहेको जनाएका छन् । उनले बिभिन्न बीउबिजनको बिना क्वारेन्टिन लुकाइछिपाइ पैठारी, जलवायु परिवर्तन र बदलिएका खेतीपातीका तौरतरिकाका कारण यस्ता समस्या देखिने गरेको हुनाले समयमै किसानले कुनै सङ्कास्पद रोगका लक्षण देखिएमा सूचना दिंदा समयमै अनुसन्धान गरी ती रोगको निदान र व्यवस्थापन विधि उपलब्ध हुने बताए ।

अझै केही दिन वर्षा हुने

0

 

काठमाडौँ, २४ साउन (रासस) ः मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ ।
“मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने देखिदैन”, मौसमविद् महर्जनले भन्नुभयो । काठमाडौँ उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । मङ्गलबार बिहान काठमाडौँमा भारी वर्षा भएको थियो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
अहिले काठमाडौँको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

किशोरीलाई फोनमा जिस्काएको निहुँमा युवकको कुटपिट गरी हत्या

0

वीरगन्ज : पर्सामा एक किशोरीलाई फोन गरेर जिस्काएको विषयलाई लिएर भएको कुटपिटमा घाइते भएका युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका-४ बर्वाटोलका २८ वर्षीय जुमदिन अन्सारी रहेका छन्। प्रहरीका अनुसार भारतको केरलामा बस्ने अतुल्लाह अन्सारीकी बहिनीलाई मृतक जुमदिनका भाइले फोन गरेर जिस्क्याएको विषयलाई लिएर गत साउन २० गते राति ९:३० बजेतिर जुमदिन पक्ष र अतुल्लाह पक्षबीच झगडा भएको थियो। झगडाका क्रममै अतुल्लाहसहितका दुई जनाले काठको चिर्पटले प्रहार गर्दा जुमदिन गम्भीर घाइते भएका थिए।

घाइते जुमदिनको बारास्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अतुल्लाहसहित दुई जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-४ कै २४ वर्षीय अतुल्लाह अन्सारी र ४५ वर्षीय बच्चाबाबु अन्सारी भन्ने वकिल अन्सारी रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।अन्नपूर्ण

बाढीले मधेसमा ४ जनाको मृत्यु, तीन जना बेपता

0

 

महोत्तरी : अविरल वर्षाका कारण मधेस प्रदेसमा चार जनाको मृत्यु भएको छ। साउन २२ गतेदेखि साउन २४ गतेसम्म दुई दिनको अवधिमा ३ पुरुषसहित एक जना महिलाको विभिन्न समयमा आएको बाढीमा परी मृत्यु भएको हो।

मृत्यु हुनेमा धनुषाल मिथिला नगरपालिका २ का १७ वर्षीय अजय यादव तथा गणेशमान चारनाथ नगरपालिका ७ का ३० वर्षीया माया परियार छन्। त्यस्तै सर्लाही हरिपूर्वा नगरपालिका-७ का ६० वर्षीय भोला चौधरी र रौतहट मौलापुर नगरपालिका-१ का ६५ वर्षीय सहिद राय भाट रहेका छन्। उनीहरूको विभिन्न नदीमा आएको बाढीको कारण मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

तीन जना बेपत्ता 
सो अवधिमा तीन जना बेपता भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। महोत्तरीको रातु नदीमा आएको बाढीले बगाउँदा सोनमा गाँउपालिका-१ का ३८ वर्षीय जाविर अन्सारी बेपत्ता भएका छन्। अंसारी लोहारपट्टी नगरपालिकास्थित रातुनदी पार गर्ने क्रममा बाढीले बगाएको हो।

त्यस्तै धनुषाको कमला खोलामा आएको बाढीले बगाउँदा गणेशमान चारनाथ नगरनाथ नगरपालिका-७ का ३५ वर्षीय सजन परियार बेपत्ता भएको हो। पर्सा जिल्लास्थित सिर्सिया नदीमा आएको बाढीले बगाउँदा भारतीय नागरिक ३२ वर्षीय किशोर राउत कुर्मी बेपत्ता भएको हो।

बेपता हुने उनीहरूको प्रहरीले खोजबिन गरिरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम स्रोतले जनाएको छ। यस अवधिमा बाढीको चपेटामा परेका २ सय ३३ जना प्रभावितमध्ये ८३ जनालाई प्रहरीको टोलीले उद्धार गरिएको हो। पर्साको सिर्सिया नदी, रौतहटको लालवकैया, सर्लाहीको बागमती र महोत्तरीको रातुनदीमा आएको बाढीबाट उनीहरूलाई उद्धार गरिएको हो।

बाढीले लाखौंको निर्माण सामग्री बगायो
बाराको जितपुर उपमहानगरपालिकास्थित दुधौरा खोलामा आएको बाढीले निर्माणाधीन सामग्री बगाएको हो। स्थानीय दुधौरा खोलामा पक्की पुल निर्माण गरिरहेको समयमा अचानक नदीमा आएको बाढीले २१ लाख ८७ हजार ५ सय रकम बराबरको निर्माण सामग्री बगाएको प्रहरी स्रोतले जनाएको छ। पूर्व-पश्चिम सडक खण्डमा रहेको दुधौरा नदीमा महादेव खिम्ति हिराचन जेभी कम्पनीले पक्की पुल निर्माण गरिरहेको प्रहरी स्रोतले जनाएको छ। अन्नपूर्ण