काठमाडौँ, २४ साउन (रासस) ः प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेकोे बताउनुभयो । उहाँले आफ्नो भनाइ राखिरहँदा सत्तापक्षका सांसद पनि आफ्नो आसनबाट उठ्नुभएको थियो ।
सांसद थापा बोलिरहेकै बेला सत्तापक्षका सांसद पनि उठेपछि सभामुख देवराज घिमिरे उहाँहरूलाई बस्न आग्रह गर्नुभएको थियो । सत्तापक्षका सांसदले आसन ग्रहण गरेपछि एमालेका सांसदहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।
यही साउन २ गते सिनामङ्गलबाट बरामद भएको अवैध सुन भित्रिएको विषयमा छानबिन समिति बनाउनुपर्ने एमालेले माग राखेको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले सुन तस्करीसँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भइरहेको र सदनलाई गृहमन्त्रीले जवाफ दिइसक्नुभएकाले सदन सञ्चालनमा सहयोग गर्न एमाले सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।
उहाँले भन्नुभयो , “संसद् जनताका आवाज उठाउने थलो हो । अहिले बाढीपहिरोका घटनालगायत संसद्मा उठाउनुपर्ने अन्य थुप्रै विषय छन् । ” उहाँले संसद्को नियमित कारबाही अगाडि बढाउन आग्रह गर्नुभए पनि एमाले सांसदले नाराबाजी गर्दै अवरोध कायम राखेपछि आजको बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।
प्रतिनिधिसभा बैठक अवरुद्ध

चाँडै नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस गर्दैछौँ ः उपप्रधानमन्त्री श्रेष्ठ
पाटन, २४ साउन (रासस) ः उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली तत्कालै ल्याउने बताउनुभएको छ ।
मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रूपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उहाँले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनाँैसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताउनुभएको हो ।
“हामी तत्कालै नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस गर्दैछौँ, यसका लागि कानुन मन्त्रालयको राय लिन बाँकी छ, नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनाँैसम्म कुराएर राख्नु पर्दैन”, मन्त्री श्रेष्ठले भन्नुभयो, “अहिले अङ्गीकृत नागरिकता वितरणमा केही सरलीकृत मात्रै गरिएको छ, पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा गरे मात्रै पुग्ने व्यवस्था गरिएको हो, नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा तिनका सन्तानले वंशजका आधारमा नागरिक पाउने व्यवस्था संविधानमा छैन, संविधानमा नभएको कुरा नियमावलीबाट अपेक्षा गर्न सकिँदैन ।”
उहाँले नेपाली आमाका सन्तानले सहज रूपमा नागरिकता पाउने व्यवस्था अहिलेको संविधान र ऐनले गरेको बताउनुभयो । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकताले राज्यको दायित्व र नागरिकको अधिकार सिर्जना गर्ने जनाउँदै यसमा बायोमेट्रिकको व्यवस्था राख्ने हो भने सबै समस्या समाधान हुने धारणा राख्नुभयो ।
“नागरिकताले राज्यको दायित्व र नागरिकको अधिकार सिर्जना गर्छ, नागरिकता लिने क्रममा बायोमेट्रिक राख्ने हो भने सबै समस्या समाधान गर्छ, हामी यो प्रक्रियालाई सुधार गरेर लैजाने छौँ”, प्रवक्ता भट्टराईले भन्नुभयो । उहाँले सङ्घसंस्थाहरूले सडक बालबालिकाको जिम्मा लिँदा वैधानिक कागजात बनाएर राख्दा धेरै सहज हुने बताउनुभयो ।
गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालले स्थानीय तहले विदेशी वा नेपाली जो भए पनि जन्म, मृत्युु र बसाइँसराइका आधारमा घटना दर्ता गरिदिनुपर्ने बताउनुभयो । उहाँले नागरिकता लिने क्रममा तीनपुस्ते पहिचान नखुलेकाहरूका लागि मन्त्रालयले बैंक तथा लोकसेवा आयोगलाई परिपत्र गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
सहभागीहरूका जिज्ञासाको जवाफ दिँदै उपसचिव कटुवालले नागरिकता वितरणका सिलसिलामा कागजातपत्र हुँदाहुँदै पनि केही प्रश्न गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नागरिकता ऐनमा भएको व्यवस्था तथा यसको कार्यान्वयनका विषयमा प्रस्तुतीकरण गर्दै वंशज नेपाली आमाबाट जन्मेका छोराछोरी, कतिपय एकल महिलाहरूलाई नागरिकता पाउन अझै पनि समस्या रहेको, नागरिकता वितरण निर्देशिका र नागरिकतासम्बन्धी नियमावलीमा अझै पनि पितृसत्तात्मक सोच हट्न नसकेको प्रस्ट बताउनुभयो ।
उहाँले नागरिकता वितरणमा कागजात पुग्दा वा नपुग्दा अनिश्चित समयसम्म अड्काएर राख्ने प्रचलन अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । विसं २०५६ मा सडकमा पुगेका त्यसबेलाका सडक बालक कुमार जोशीले २०५७ सालदेखि सङ्घसंस्थाको सहयोगमा बाँचेको र २०६९ सालमा नागरिकताका लागि पहल गर्दा नपाएर अदालत गएको र नागरिकताका लागि पहल गरेको ११ वर्षपछि सर्वोच्च अदालतबाट २०८० सालमा नागरिकता दिन आदेश भएको बताउनुभयो ।
उहाँले समयमा ऐन र नियम नबन्दा आफू ३५ वर्षको उमेरसम्म नागरिकताबाट वञ्चित भएको र अब सरकारी सेवा प्रवेश गर्ने अवसरबाट वञ्चित भएको गुनासो गृहमन्त्रीसामु गर्नुभयो ।
कार्यक्रममा सहभागीले नागरिकता पाए पनि तीनपुस्ते नहुँदा बैंक खाता खोल्न, लोकसेवामा फारम भर्न समस्या भएको, लैङ्गिक तथा अल्पसङ्ख्यकहरूका लागि पनि सहज र सम्मानजनक व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।
वर्तमान संविधान आएको सात वर्षपछि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न सङ्घीय संसद्बाट बनेको २०८० जेठ १७ गते राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना पत्ता नगालेकाहरूले पनि नागरिकता पाउने व्यवस्था कायम भएको छ । उनीहरूले १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपाली नागरिकता पाउने कानुनी व्यवस्था छ ।
मधेस विश्वविद्यालय द्वारा भदौ देखि कानुन र जनप्रशासन शङ्कायमा भर्ना लिने
वीरगञ्ज, २४ असार (रासस) ः मधेस विश्वविद्यालयले यही भदौ महिनादेखि कानुन र जनप्रशासन शङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि बीए, एलएलबी र जनप्रशासन शङ्कायको कक्षा सञ्चालन गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिनुभयो ।
त्यसका लागि प्रारम्भिक कार्य पूरा गरी गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित गरिसकिएको छ । ‘‘विश्व विद्यालयको विषयगत समितिले तयार पारेको विद्यार्थी भर्ना प्रक्रिया र मापदण्डपारित गरी प्राज्ञ परिषद्बाटसमेत पास भइसकेको छ”, रजिष्ट्रार यादवले भन्नुभयो,‘‘अब केही दिनमै नेपाल कानुन व्यवसायी परिषद्बाट पानि पास गरेर औपचारिक रूपमा हामी भर्नाको प्रक्रिया सुरु गर्छाै ।” भर्ना खोल्न करिब करिब तयारी पूरा भइसकेको उहाँको भनाइ थियो ।
भर्नासँगै आगामी असोजदेखि दुबै शङ्कायको पठनपाठन सुरु गरिने रजिष्ट्रार यादवले जानकारी दिनुभयो । विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्व विद्यालयको समन्वयमा यी दुबै शङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरिएकोे छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाईसमेत अघि बढाएको छ । विसं२०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।
पोलिटेक्निक, आइटी, व्यवस्थापन, पारामेडिकल, कृषि इञ्जीनीयरिङलगायत प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हबको रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढ्ेको यस विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपिआर तयारीमा जुटेको छ । सो कार्यका लागि पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त भएको छ भने पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठा (राधाकृष्ण मन्दिर) को २७ बिघा जग्गा पनि प्राप्त भएको छ । बहुदरमाई नगरपालिका–२ मा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी पिलर जडान गरिएको भने पोखरिया नगरपालिकाको १६ बिघा जग्गाको स्वामित्व हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ ।
उक्त विश्वविद्यालयले आफूलाई चाहिने विश्वविद्यालय सङ्गठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षा, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ पनि पारित गरिसकेको छ । आफ्नै केन्द्रीय क्याम्पस खोल्ने दीर्घकालीन सोच बनाएको विश्वविद्यालयको डिपीआर तयार भएपछि भौतिक संरचना निर्माणका लागि विभिन्न दूतावास, राष्ट्रिय योजना आयोग, मन्त्रालय तथा दाताबाट चन्दा सङ्कलन गरी भवन निर्माण गर्ने लक्ष्य लिइएको रजिष्ट्रार यादवले बताउनुभयो ।
आवश्यकता र औचित्यको आधारमा आवश्यक जनशक्ति भर्ना गर्न सकिने अधिकार पाएको उक्त विश्वविद्यालयमा हाल उपकुलपति र राजिष्ट्रारबाहेक तीन जना प्रशासनमा र चारजना कार्यालय सहयोगीमा कार्यरत छन् ।
राष्ट्रियसभा बैठक ः ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न

काठमाडौँ, २४ साउन (रासस) ः अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुन्न नसक्ने अडान लिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर बोल्दै सत्तापक्षका सांसदले सदन निरन्तर अवरुद्ध हुँदा जनसरोकारका विषयमाथि छलफल हुन नसकेको, कतिपय महत्पूर्ण विषय पेस हुन नपाएकाले सदन सञ्चालन गरी सहमतिका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
प्रतिपक्षी दलका संसद्ले भने नागरिकको पक्षमा काम गर्नका लागि आफूहरूले मुद्दा उठान गरेको भन्दै सहमतिका आधारमा निष्कर्षमा पु¥याउनुपर्ने जिकिर गर्नुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नागरिकको सार्वभौम, कानुन बनाउने, जनजीविका र विकास निर्माणसँग प्रत्यक्ष जोडिएका विषयवस्तु उठाइने संसद् अवरुद्ध हुनुले आवश्यकताका विषय ओझेलमा परेको जनाउँदै तत्काल सदन खुलाउनुपर्नेमा जोड दिनुभयो ।
“संसद्को गरिमालाई कायम राख्नका लागि अवरुद्ध सदन सुचारु गरी असहमति भएका विषय बैठकमा राख्नुपर्ने हो”, उहाँले भन्नुभयो, “प्रतिपक्षले जुन ढङ्गले संसद् अवरुद्ध गरिरहेको छ, यसले भावी पुस्तालाई के सन्देश दिन्छ ? सदनको भाव र मर्मलाई सबै राजनीतिक दलले बुझ्नुपर्छ ।”
भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुनकाण्डलगायत विषय वर्तमान सरकारले उजागर गरी कानुनी दायरामा ल्याउने अभियान चलाइरहेको अवस्थामा सदन अवरुद्ध गरेर कसैलाई पनि फाइदा नपुग्ने सांसद शर्माको भनाइ थियो । “राज्यका अङ्गको कामप्रति हामीले विश्वास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले उपलब्ध साधन, स्रोत र जनशक्तिले सम्पन्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई सुन प्रकरणको छानबिनका लागि जिम्मेवारी दिएको छ ।”
नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले सार्वभौम संसद् संसदीय प्रणालीको साझा थलो भएकाले जनसरोकारका विषय छलफल हुन पाउनुपर्ने धारणा राख्दै संसद् खुलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “संसद् अवरुद्ध हुँदा जनताको बोली अवरुद्ध हुन्छ । केही दिनयता लगातार संसद् अवरुद्ध हुनु राम्रो संस्कार हैन”, उहाँले भन्नुभयो, “यसले संसदीय प्रणालीलाई कता लैजादैछ भनी प्रश्न उठेको छ ?”
सांसद देवकोटाले वर्षायाममा बाढीपहिरोजन्य घटना भइरहेको जनाउँदै नागरिकसँग प्रत्यक्ष जोडिएका समस्या सम्बोधन गर्नका लागि पनि संसद सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले तीन सातादेखि संसद अवरुद्ध हुँदा नागरिकका विषय ओझेलमा परेका भन्दै संसद्लाई अनिर्णयको बन्दी बनाइनुहुन्न भन्नुभयो ।
बैठकमा नेकमा (एमाले)का सांसद कुमार दसौदीले आफ्नो पार्टीले भाष्य निर्माण गरेर सदन अवरोध नगरेको स्पष्ट पार्दै सुन काण्डको छानबिनका लागि आयोग गठन गर्न सुरुदेखि नै माग गरिएको बताउनुभयो । उहाँले अहिले सिआइबीको नाममा विषयलाई सामसुम पार्न खोजिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सुनकाण्डको तस्करी सदाको लागि अन्त्य गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेर त्यसलाई निर्मूल गनुपर्छ ।”
एमालेकै सांसद बिमला राई पौड्यालले राज्यका निकायमाथि शङ्का नभइ ती संस्थालाई कमजोर बनाउने सम्भावना भइरहेकाले उच्चस्तरीय छानबिन आयोग गठन गरेर यस विषयको टुङ्गो लगाउनसकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अवरुद्ध संसद् खुलाउने विषय सरकारको दायित्व भएको जनाउँदै अहिले सम्बोधन गर्नुपर्ने जनजीविकाका विषयलाई प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले संसद् अवरुद्ध हुँदा विद्यमान समस्यालाई थप जटिलतातर्फ लगिरहेको उल्लेख गर्नुभयो । “हिजोको मान्यतालाई आज पनि स्थापित गर्नुहुदैन । संसद् अवरुद्ध गरेर समस्याको समाधान हुदैन । भ्रष्टाचारको निमूलका लागि सबै एकताबद्ध भएर निष्कर्षमा पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले लामो समयसम्म वर्षा नहुँदा तराईका अधिकांश क्षेत्रमा धान रोपाइँ हुननसकेको भन्दै नेपालको उर्वरा भूमिको उत्पादन वृद्धिका लागि सरकारले योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले सुन प्रकरणको छानबिनका लागि सरकारले सिआइबीलाई जिम्मेवारी दिइसकेकाले उक्त कार्यमा विश्वासका साथ सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद शर्माले भ्रष्टाचार तथा तस्करी नियन्त्रण गर्न सकिएमा देशमा आर्थिक समृद्धि र सुशासन अभिवृद्धि हुने बताउनुभयोे । उहाँले संसद् अवरुद्ध गरेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै सरकारी निकायले गरिरहेका कामप्रति विश्वास गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले ढिलै भए पनि प्रतिपक्षीले संसद् खुलाउन सहयोग गरेकामा धन्यवाद व्यक्त गर्नुभयो ।
सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी, सुन तक्करी, ललिता निवास काण्डलगायत विषयले देशको बदनाम भएको जनाउँदै यस्ता गतिविधि नियन्त्रणका लागि संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो । उहाँले पटक–पटक संसद् अवरुद्ध गरेर सार्वभौम जनताको अधिकार हनन भइरहेकाले समस्या समाधानका लागि सहमति गरी निकास जोखिनुपर्नेमा जोड दिनुभयो ।
सांसद बामदेव गौतमले सुनकाण्ड, नक्कली भुटानी शरणार्थीलगायत सबैकाण्डको निष्कर्षमा पु¥याउन सबै जिम्मेवार ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले उच्चस्तरीय छानबिन समिति गठन गर्दा कार्यक्षेत्र परिवर्तन भई अहिले उठिरहेका विषय ओझेलमा पर्नसक्ने जनाउँदै अहिलेको प्रक्रियालाई निष्कर्षमा पु¥याउन सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
यसैबीच बैठकको आकस्मिक समयमा सांसद बिमला कुमारी घिमिरेले वर्षातका समयमा देशभर बाढीपहिरोजन्य घटनाले ठूलो धनजनको क्षति भइरहेको सन्दर्भमा अवरुद्ध सदन खुलाएर संसद्को गतिरोध अन्त्य गर्न सरकारले विशेष पहल गर्न माग गर्नुभयो । सांसद रमेशजङ्ग रायमाझीले संसद्मा नबोलिएको विषय प्रतिपक्षले कुरा उठाएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै तीन सातादेखि संसद् अवरुद्ध गरिरहेको छ ।
कार्यसूचीमा प्रवेश नगरी बैठक अवरुद्ध
राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रह्यो ।
बैठकको सुरुमा दलीय आधारमा सांसदहरूले आफ्नो भनाइ राखिसकेपछि एमालेले बैठक पुनः अवरोध गरेको हो । आजको लागि निर्धारित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूची हटाउनुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।
आँखा पाक्ने रोग लागे आत्तिनु पदैन
काठमाडौँ, २४ साउन (रासस) ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गर्नुभयो । उहाँले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताउनुभयो ।
हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । “यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ”, डा अधिकारीले भन्नुभयो । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भीडभाडमा हुने ठाउँ÷सार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उहाँले बताउनुभयो ।
डा अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी भोएर मात्रै प्रयोग गर्नुपर्दछ ।
लक्षणहरू
आँखा पाक्ने रोगका प्रमुख लक्षणहरूमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने÷दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेलगायत हुन् ।
नार्कबाट सञ्चालित कार्यक्रमले इलामको माईजोगमाई बीउ आलुको हब बन्दै
काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) बाट विकसित आलुका उन्नत प्रविधिले ईलाममा व्यापक लोकप्रियता पाइरहेका छन् ।
वि.सं.२०७५ सालदेखि नार्कले ईलाममा सुरु गरेको आलुका उन्नत प्रविधिको विस्तार गर्ने रुपान्तरणकारी परियोजनाबाट बीउ आलु उत्पादनमा उल्लेखनीय बृद्धि भई किसानको आय आर्जन बढेपछि यो कार्यक्रम लोकप्रिय भएको हो । सुरुमा वि.सं. २०७१ देखि नार्क अन्तर्गतको कृषि अनुसन्धान केन्द,्र जौवारी मार्फत् माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले आलुका उन्नत विउ लगेर उत्पादन गरेपछि यसले चर्चा पाएको हो । सोही सालमा जौवारी केन्द्रबाट २ हजार ४ सय किलो उन्नत विउ समुदाय स्तरमा उत्पादन गरी त्यसको विस्तार गर्न सुरु गरिएको थियो ।
कृषि अनुसन्धान केन्द्र जौवारीका प्रमुख जनार्जन गौतमका अनुसार उक्त क्षेत्रमा पहिले विटे, झ्याले, डेजिरे जस्ता पुराना जातका आलु लगाउँने र विउ नफेरी दशकौसम्म एउटै वीउबाट वीउ उत्पादन गर्ने चलन रहेकोमा जौवारी केन्द्रले आलुको वीउ चक्र स्थापना गरी आलुको उत्पादन बढाउँन सहयोग पुगेको हो । पुराना जातहरुमा एेंजेरु, भाइरस र डढुवा रोग लाग्ने र उत्पादन कम हुने तर उन्नत जातका आलुमा रोग नलाग्ने हुनाले उत्पादन बढेको हो ।
गौतमका अनुसार हाल समुदाय स्तरमा मात्र ४० मेट्रिक टन उन्नत विउ आलु उत्पादन हुने गरेको र त्यहाँबाट ताप्लेजुङ, धनकुटा, संखुवासभासम्म वीउ पुग्ने गरेको छ । ईलाममा वीउका अतिरिक्त लगाउँने समयमा समेत फेरबदल ल्याउँदा उत्पादनमा उल्लेख्य बृद्धि भएको उनले बताए । यस अघि किसानले चैतमा रोप्ने गरेकोमा हाल पुस १५ देखि फागुन १५ सम्म आलु रोप्दा उत्पादन ७० प्रतिशतभन्दा बढी बढेको छ । फागुन १५ देखि चैत १५ सम्म रोप्दा १६ प्रतिशतले उत्पादन बढेको थियो । तर चैत १५ पछि रोप्दा निकै कम उत्पादन भएकोले किसानहरुले रोप्ने समय पनि परिवर्तन गरिरहेको उनले जनाए ।
माईजोगमाई गाउँपालिकाका किसान उमाकान्त भट्टराईले आलुका पुराना जातहरुले एक रोपनीमा चार÷पाँच मन उत्पादन दिने गरेकोमा नयाँ जातको आलु लगाउँदा एक रोपनीमा २० मन सम्म आलु फलाएको बताए ।
उनले आफ्नो गाउँपालिकामा हाल ८० प्रतिशत किसानले आलुका नयाँ प्रविधि अपनाउँने गरेको बताए । उनले राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारबाट उन्नत आलु उत्पादनमा तालीम लिएको र उन्नत विधिहरु अपनाउँदा वीउको बचत भएको र दाना कुहिने समस्याबाट आलु जोगिएको बताए ।
ईलाम नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नुतन दुलालले दुई बर्षदेखी आलुका उन्नत जातहरु जौवारी कृषि केन्द्र मार्फत् समुदाय स्तरमा लगेको र त्यसको नतिजा उत्साहजनक आएको बताए ।
उनका अनुसार रोगमुक्त नयाँ बीउले दश किलो लगाउँदा १० मन फल्ने गरेको तर पुरानो बिउ १० मन फलाउँन एक मन लाग्ने गरेको अनुभव सुनाए । उनले नार्कसंग अन्य बालीनालीमा पनि उन्नत प्रविधि विस्तारमा सहकार्य गर्न चाहेको उल्लेख गरे ।
ताप्लेजुङ, सन्दकपुर गाउँपालिकाका किसान माधव गर्तौलाले सामुदायिक स्तरमा नार्कबाट प्राप्त आलुका बीउलाई आफ्नो ठाउँमा लगाउँदा पुरानो बिउ भन्दा उत्पादनमा दोब्बर बृद्धि भएको बताए । जनकदेव जातको आलु प्रत्येक बर्ष ३० मनका दरले उत्पादन बढाउँदै पुरानो कम उत्पादन दिने आलुका जातहरुलाई बिस्थापित गर्ने योजना रहेको समेत उनले सुनाए ।
राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारका संयोजक डा. गिरिधारी सुवेदीले ईलामको माईजोगमाईमा २०७५ देखी आलुमा रुपान्तरणकारी परियोजना सञ्चालन गरिएको बताए । जौवारी केन्द्रसंग समन्वय गरी आलुका उन्नत जातका भाईरसमुक्त बीउ उक्त ठाउँमा बीउ बृद्धिको रुपमा सुरु गर्दा यो सफलता प्राप्त भएको उनले बताए ।
उक्त क्षेत्रमा जनकदेव, खुमलउज्वल, डेजिरे र कुफ्रि ज्योति जातका बीउ पठाइएको र त्यसमा जनकदेव जातका बीउ लोकप्रिय भएको बताए । हाल उक्त क्षेत्रमा बार्षिक ८६ हजार किलो बीउ आलु उत्पादन हुने गरेको डा. सुवेदीले बताए ।
डा. सुवेदीका अनुसार हाल उक्त क्षेत्र पुर्वी नेपालको वीउ आलु उत्पादनको हब भएको कुरा उनले बताए । पहिलो बर्ष तीन हजार, दाना दोस्रो बर्ष आठ हजार दाना र तेस्रो बर्ष चार हजार एक सय दाना पिविएस (भाइरसमुक्त बीउ आलु) वितरण गरी बीउ बृद्धि कार्यक्रम सञ्चालन गर्दा समुदाय स्तरमा समेत बीउ उत्पादन बिस्तार भएको थियो ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार नेपालमा एक लाख ९८ हजार हेक्टर क्षेत्रफलमा ३३ लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । साथै आठ अर्ब ८२ करोड रुपैया बराबरको आलु र आलुका परिकारहरु विदेशबाट आयात हुने गरेको परिप्रेक्ष्यमा यस्ता रुपान्तरणकारी कार्यक्रमले उत्पादन र आयात बीचको अन्तर कम गरी निर्यात प्रबद्धनमा सहयोग पुग्ने डा. उपाध्यायले बताए ।
डा. उपाध्यायका अनुसार यस्ता रुपान्तरणकारी कार्यक्रमहरु पर्वतको सालिजा, बाग्लुङको ढोरपाटन, लम्जुङको दोर्दी, अछामको मेललेख, जुम्लाको डिल्लीचौर, रोल्पाको जिनावाङ र राँक, रसुवाको गतलाङमा पनि सञ्चालन गरिएको र किसानलाई तालीम, बीउ भण्डारण, उत्पादन विधि सहित सबलीकरण गरिएकाले किसानहरुको आयस्तरमा वृद्धि भइरहेको छ ।
गोलभँेडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो
पर्सा, २३ सावन (रासस)ः नेपालमा उत्पादन भईल गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभँेडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।
नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो रु एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा रु एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरूले बताए ।
मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट
वीरगञ्ज, २३ सावन (रासस) ः कुनै बेला अत्यधिक विद्युत् चुहावट हुने मधेस प्रदेशमा पछिल्लो समय निरन्तर चुहावट घट्दै गएको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै करिब एक प्रतिशत विद्युत् चुहावट घट्ेको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकहरूको बिलिङ्गमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङ्गमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो ।
यस प्रदेशमा गत आर्थिक वर्ष २०७७÷७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८÷७९ मा १४ दशमलव १७ प्रतशत र आर्थिक वर्ष २०७९÷८० मा १३ दशमलव ७९ प्रतिशतमा चुहावट झरेको जनकपुरधामस्थित विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।
विद्युत् चुहावटको दृष्टिकोणले सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१÷४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५÷३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको उक्त कार्यालयले जनाएको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको त्यहाँ प्रमुख ई मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७९÷८० मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार आठ सय ४८ ग्राहकमाथि कारबाही गर्दा रु पाँच करोड २१ लाख ९३ हजार सात सय ३७ महसुल सङ्कलन भईल थियो। अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार नौ सय ६७ ग्राहकमाथि कारबाही गर्दा रु छ करोड ६४ लाख ३२ हजार आठ सय ५८ महसुल सङ्कलन भईल थियो । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार आठ सय ४८ जनालाई पक्राउ गरी कारबाही गरिएको थियो ।
यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने २८ हजार नौ सय २३ जना ग्राहकको विद्युत् लाइन काटिँदा २४ हजार नौ सय ५५ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु ८५ करोड ३२ लाख ३१ हजार तीन सय ७० बक्यौता असुली भईल थियो । विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन कट्टा गर्ने अभियान चलाई बक्यौता सङ्कलन गरिएको प्रमुुख ई ठाकुरको भनाइ थियो ।
आर्थिक वर्ष २०७९÷८० मा मधेस प्रदेशमा रु १५ अर्ब ३३ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु १३ अर्ब ९३ करोड महसुल सङ्कलन भईल जनाइएको छ । आर्थिक वर्ष २०७९÷८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएको छ । योसँगै मधेस प्रदेशमा ग्राहकको सङ्ख्या दश लाख ४४ हजार सात सय ८६ मध्ये ५७ प्रतिशत औद्योगिक र ३२ प्रतिशत गार्हस्थ्य ग्राहक, दुई प्रतिशत व्यापारिक र सात प्रतिशत अन्य रहेको जनाइएको छ ।
यस्तै २०७८ सालदेखि अनलाइनबाट विद्युत् महसुल बुझाउने अनलाइन सेवा सुरु गरिएको र हाल २६ प्रतिशतले अनलाइन महसुल तिर्दै आएको प्रमुख ई ठाकुरले बताउनुभयो ।
यस प्रदेशको शत्प्रतिशत गाउँ बस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोल बस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी भईल छ । “ आर्थिक बर्ष २०७८÷७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत् सेवा पुगेको थियो”, प्रमुख ई. ठाकुरले भन्नुभयो, “विद्युतीकरण बाँकी रहेको एक प्रतिशत घरमा आर्थिक वर्ष २०७९÷८० मा पु¥याएपछि प्रदेशका शत्प्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ ।” “अब केही दिनभित्रै हामीले प्रदेशलाई शत्प्रतिशत विद्युतीकरण प्रदेश घोषणा गर्छांै”, उहाँले भन्नुभयो । प्रदेशका सबै गाउँ बस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानहरूको खेतबारीसम्म विद्युत् पु¥याउने अभियान सुरु गरिएको प्रमुख ई ठाकुरले बताउनुभयो ।
प्राधिकरणले चालु आर्थिक बर्षदेखि रु ५५ करोड बराबरको सिँचाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारहरूसँग समेत सहकार्य गरेर सिँचाइ विद्युतीकरण सुरु गरेको छ । जसअन्तर्गत स्थानीय सरकारले आफ्ना पालिकाभित्रका किसानलाई निःशुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुल बापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाउनुपर्ने व्यवस्था छ ।
हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले निःशुल्क सिँचाइ बत्ती पु¥याउन निर्णय गरेर पठाएको र अन्य पालिकाहरूले समेत निर्णय गर्ने जानकारी गराएको उहाँले बताउनुभयो । सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट रु दुईका दरले मात्र महसुल तिराउने नीति लिएको विद्युत् प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि रु पाँच अर्ब बजेट छुट्याएको जनाएको छ ।
खोलाको पानी गाउँ पस्दा एक दर्जन घर डुबानमा
वीरगञ्ज, २३ सावन (रासस) ः अबिरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका(३० लालपर्सा र प्रसोतिपुरको एक दर्जन घर डुबानमा परेका छन् । स्थानीय भेडाहा खोलाको पानी गाउँमा पस्दा लालपर्सा, प्रसोतिपुरलगायत गाउँका एक दर्जन घर डुबानमा परेको स्थानीयले बताएका छन् ।
यद्यपि आज बिहानदेखि पानीको सतह घट्दै गएको छ । बस्ती डुबानमा परेपछि प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वस्तीको स्थलगत निरीक्षण गर्नुभईल छ ।
स्थलगत निरीक्षण गर्नुहुँदै पूर्वमन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै यहाँ हुने डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नुपर्ने बताउनुभयो । डुबानको समस्या दीर्घकालीन रूपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाइ हुनपुगेको भन्दै चाँडै सम्पन्न गराउन लागि परेको महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।
तत्काललाई पानी निकासा हुने गरी व्यवस्था मिलाउने र डुबानमा परेकाका लागि उचित राहतको ब्यवस्था मिलाइने उहाँको भनाइ छ । भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमासमेत छरिएर आइपुगेको छ ।
पर्सामा ८५ प्रतिशत धान रोपाइँ
पर्सामा हालसम्म करिब ८५ प्रतिशत जग्गामा धान रोपाइँ भईल छ । पर्याप्त नभएपछि वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर किसानले अहिलेसम्म करिब ८५ प्रतिशत जग्गामा धान रोपाइँ गरेको कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिनुभयो ।
“जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाबाट सिँचाइ गरी धान रोपाइँ गरिरहेका छन्”, प्रमुख कुशवाहाले भन्नुभयो, “अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धमाधम धान रोपाइँ गरिरहेका छन् ।”
तुलनात्मक रूपमा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भईल उहाँको भनाइ छ । पर्सामा सिँचाइ सुविधा पुगेको ठाउँमा धमाधम रोपाइँ भइरहेपनि जिल्लाको उत्तरी, पश्चिमी भेगका अन्य कतिपय स्थानमा धान रोपाइँ हुन नसक्दा करिब १५ प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो रहेको प्रमुख कुशवाहाको भनाइ छ ।
पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । तर वर्षा नहँुदा अहिलेसम्म ४० हजार ६० हेक्टरमा धान रोपाइँ भईल छ ।
उहाँका अनुसार सावन महिनाको अन्तिमसम्म शतप्रतिशत जग्गामा धान रोपाइँ हुने अनुमान गरिएको छ । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।
समयमा पर्याप्त वर्षा हुनु, किसान ढिलो गरी धानको बेर्ना तयार पार्नु, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृति लगायतका कारणले धान रोपाइमा ढिलाइ भईल प्रमुख कुशवाहाको कथन छ । अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षामा छन् ।
भोजपुरी टाईम्स दैनिकको वार्षिकोत्सवमा मन्दिप रामलाई ह्विल चेयर सहयोग
वीरगंज २३ साउन ।
नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगंजबाट नियमित रुपमा प्रकाशित हुदै आएको एक मात्र भोजपुरी टाईम्स दैनिक पत्रिकाले फरक क्षमता भएका (अपाङ्ग)एक जना असहाय बालकलाई सहयोग गरी आफ्नो १० औं वार्षिकोत्सव मंगलबार मनाएको छ ।
पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यो वर्ष बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया निवासी चरितर रामको १४ वर्षिय छोरा मन्दिप कुमार राम जन्मेदेखि नै अपाङ्ग रहेकोमा उनलाई एक थान ह्विल चेयर सहयोग प्रदान गरेको छ ।
मन्दिपको जन्मै देखि हात खुटा पूर्ण रुपमा काम नगरेकोले उनलाई हिडडुल गर्न समस्या रहेको छ । उनको घरको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानियहरुले बताए पछि पत्रिकाले अन्य कार्यक्रमहरु नगरी यो वर्ष मन्दिपलाई ह्विल चेयर सहयोग गरेको पत्रिकाका प्रकाशक अजय चौरसियाले बताए ।
पत्रिकाका प्रकाशक चौरसिया, कार्यकारी सम्पादक श्रवण प्रसाद साह र बारा प्रतिनिधि प्रभु यादवले मन्दिपको घरमै पुगेर उनका आमा छठिया देवी रामलाई सो ह्विल चेयर हस्तान्तरण गरेका थिए ।
सो अवसरमा समाजसेवी ईजरायल अंसारी, स्थानिय अनिल कुशवाहा, सञ्चारकर्मी उमेश दुबे, रंजित चौरसिया, दिपेन्द्र गिरी, मुकेश चौरसिया लगायत स्थानियवासीहरुको सहभागीता रहेको थियो ।
पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रमलाई फरक–फरक ढंगले मनाउदै आएको छ । यस वर्ष वार्षिकोत्सवमा पिछडिएका वर्ग मन्दिप रामलाई ह्विल चेयर सहयोग गरेको र आउने दिनहरुमा पनि सक्दो सहयोग गरी मनाउने पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले बताए ।
गत वर्ष वीरगंज स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्टेश्नरी सहयोग गरी पत्रिकाले ९ औं वार्षिकोत्सव मनाएको पत्रिकाका कार्यकारी सम्पादक श्रवण साहले बताए ।









